`

पाकिस्तानी युवती समनको जबरजस्ती विहे र परिवारबाटै हत्या प्रकरण

Nepal One HD ३२ असार २०८३ ११:५६
बिशेष

काठमाडौं। इटालीको सर्वोच्च अदालतले पाँच वर्षअघि जबरजस्ती विवाह गर्न अस्वीकार गरेकी पाकिस्तानी मूलकी १८ वर्षीया युवती समन अब्बासको हत्या प्रकरणमा अन्तिम फैसला सुनाउँदै उनका पाँच जना आफन्तलाई दोषी ठहर गरेको छ।

सर्वोच्च अपिल अदालत सुप्रिम कोर्ट अफ क्यासेसनले यसअघि तल्लो अदालतले सुनाएको सजायलाई यथावत् राख्दै यो बहुचर्चित मुद्दाको कानुनी टुंगो लगाएको हो।

इटालीमा बसोबास गर्दै आएकी समन अब्बासको सन् २०२१ मा परिवारकै सदस्यले हत्या गरेको अभियोजन पक्षको दाबीलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ। समनले पाकिस्तानमा आफन्तसँग गराउन खोजिएको जबरजस्ती विवाह अस्वीकार गरेकी थिइन्। अदालतका अनुसार यही कारणले उनलाई योजनाबद्ध रूपमा हत्या गरिएको थियो।

अदालतले समनका बुबा शब्बर अब्बास, आमा नाजिया शाहिन, काका छोराहरू इजाज इकराम र नोमानुल हकलाई आजीवन कारावासको सजाय यथावत् राखेको छ। त्यस्तै, घटनामा संलग्न ठहरिएका उनका काका दानिश हसनैनलाई यसअघि सुनाइएको २२ वर्षको कैद सजाय पनि कायम गरिएको छ।

समन अब्बास सन् २०१६ मा आफ्नो परिवारसँगै पाकिस्तानबाट इटालीको उत्तरी सहर नोभेलारा बसाइँ सरेकी थिइन्। किशोरावस्थामै उनले इटालीमा पढाइ अघि बढाइन् र त्यहीँ पाकिस्तानी मूलकै एक युवकसँग प्रेम सम्बन्धमा रहिन्।

उनका आमाबुबाले भने उनलाई पाकिस्तान फर्काएर आफ्नै काकाका छोरासँग विवाह गराउने योजना बनाएका थिए। समनले यो विवाह गर्न स्पष्ट अस्वीकार गरिन्। उनले आफू आफ्नो जीवनबारे आफैं निर्णय गर्न चाहेको बताएकी थिइन्।

परिवारसँगको विवाद चर्किएपछि उनले इटालीको सामाजिक सेवा विभागसँग सहयोग मागेकी थिइन्। सन् २०२० को नोभेम्बरमा उनलाई सरकारी संरक्षणमा रहेको आश्रयस्थलमा राखिएको थियो। उनले आफ्नै आमा-बुबाविरुद्ध प्रहरीमा उजुरी पनि दिएकी थिइन्।

तर, परिवारले पटक-पटक सम्पर्क गरी विश्वास दिलाएपछि अप्रिल २०२१ मा उनी पुनः घर फर्किइन्। यही निर्णय उनको जीवनको अन्तिम निर्णय सावित भयो।

घर फर्किएको केही दिनपछि समन अचानक सम्पर्कविहीन भइन्। ५ मे २०२१ मा प्रहरी उनको घर पुग्दा परिवारका सदस्यहरू त्यहाँ थिएनन्। अनुसन्धानका क्रममा उनका आमा-बुबा पाकिस्तान भागिसकेको खुल्यो।

प्रहरीले घर नजिकैको सीसीटीभी फुटेजको अध्ययन गर्दा २९ अप्रिल २०२१ मा पाँच जना व्यक्ति घरबाट फरुवा, फलामको रड र बाल्टी बोकेर बाहिर गएको र करिब साढे दुई घण्टापछि फर्किएको दृश्य फेला पारेको थियो। यही दृश्य अनुसन्धानको सबैभन्दा महत्वपूर्ण प्रमाण बन्यो।

त्यसपछि अनुसन्धानकर्ताहरूले घटनालाई हत्या भएको निष्कर्षतर्फ अघि बढाए।

समन बेपत्ता भएको करिब १८ महिनापछि, नोभेम्बर २०२२ मा उनका काका दानिश हसनैनले दिएको सूचनाका आधारमा प्रहरीले परिवारको घर नजिकै रहेको एउटा फार्महाउस क्षेत्रमा जमिनमुनि गाडिएको शव फेला पारेको थियो।

पोस्टमार्टम रिपोर्टले समनको घाँटीको हड्डी भाँचिएको देखाएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार उनको घाँटी थिचेर हत्या गरिएको सम्भावना बलियो देखिएको थियो।

शव फेला परेपछि अनुसन्धानले निर्णायक मोड लिएको थियो।

हत्यापछि समनका आमा-बुबा पाकिस्तान भागेका थिए। उनका काका दानिश हसनैन फ्रान्स पुगेका थिए भने अन्य आफन्तहरू पनि फरार भएका थिए।

दानिश हसनैनलाई सन् २०२१ मा फ्रान्सको पेरिसबाट पक्राउ गरिएको थियो। शब्बर अब्बासलाई पाकिस्तानमा पक्राउ गरी अगस्ट २०२३ मा इटाली प्रत्यर्पण गरिएको थियो। आमा नाजिया शाहिनलाई पनि पछि पक्राउ गरी मुद्दाको प्रक्रियामा ल्याइएको थियो।

सुनुवाइका क्रममा शब्बर अब्बासले आफूले छोरीको हत्या गर्ने कल्पना पनि नगरेको दाबी गरे। तर अदालतले सीसीटीभी फुटेज, डिजिटल प्रमाण, पोस्टमार्टम रिपोर्ट तथा अन्य अनुसन्धानलाई पर्याप्त प्रमाण मानेर दोषी ठहर गरेको हो।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै यसलाई “लामो र पीडादायी न्यायिक प्रक्रियाको अन्त्य” भएको बताएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत समनले आफ्नो भविष्य आफैं रोज्ने अधिकार खोजेकै कारण ज्यान गुमाउनुपरेको उल्लेख गर्दै महिलाको स्वतन्त्रता र जीवनको अधिकार कुनै पनि सांस्कृतिक वा धार्मिक कारणका नाममा खोस्न नसकिने स्पष्ट पारेकी छन्।

उनका अनुसार इटालीमा महिलामाथि हुने यस्ता हिंसात्मक अपराधका लागि कुनै सहिष्णुता हुन सक्दैन।

समन अब्बासको हत्या इटालीमा पछिल्ला वर्षहरूको सबैभन्दा चर्चित ‘इज्जतको नाममा हत्या’को घटनामध्ये एक मानिन्छ।

यो घटनाले जबरजस्ती विवाह, आप्रवासी समुदायभित्र हुने लैङ्गिक हिंसा, महिला अधिकार, किशोरीहरूको स्वतन्त्रता तथा सांस्कृतिक परम्पराका नाममा हुने अपराधबारे राष्ट्रिय बहस सुरु गराएको थियो।

मानवअधिकारकर्मीहरूले यो फैसला महिलाको स्वतन्त्र निर्णय गर्ने अधिकारको संरक्षणका लागि महत्वपूर्ण कानुनी नजिर भएको बताएका छन्।

सर्वोच्च अदालतको अन्तिम फैसलासँगै समन अब्बास हत्या प्रकरण कानुनी रूपमा टुंगोमा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *