शनिबार रातिदेखि भारी वर्षाको सम्भावना
काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मनसुन प्रणाली थप सक्रिय हुने र देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर वर्षाको गतिविधि बढ्ने देखिएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।
उनले शनिबारसम्म देशका पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन्।
महाशाखाले विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षासँगै पहिरो जाने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र बाढीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै, लामो दूरीको यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्था बुझ्न, आधिकारिक मौसमी सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न महाशाखाले सबैलाई अनुरोध गरेको छ।
