इरानमा भिषण अमेरिकी बमबारी
काठमाडौं। पश्चिम एसियामा अमेरिका र इरानबीचको सैन्य तनाव झन् गहिरिँदै गएको छ। अमेरिकी सेनाले लगातार छैटौँ रात इरानका विभिन्न क्षेत्रमा आक्रमण गरेको भन्दै इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसपटकका आक्रमण सैन्य संरचनामा सीमित नरही पुल, रेलवे स्टेसन, सञ्चार पूर्वाधार र विमानस्थल आसपासका क्षेत्रमा समेत केन्द्रित भएको दाबी गरिएको छ। अधिकांश आक्रमण इरानका दक्षिणी प्रान्तमा भएका छन्, जुन विश्वव्यापी ऊर्जा आपूर्तिका लागि रणनीतिक मानिने होर्मुज जलमार्ग नजिक पर्दछन्।
इरानका अनुसार बन्दर अब्बासस्थित मुख्य रेलवे जङ्सनमा भएको आक्रमणमा दुई कर्मचारी गम्भीर घाइते भएका छन्।
होर्मोजगान प्रान्तको बन्दर खमिर नजिक रहेका दुई प्रमुख पुल ध्वस्त हुँदा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। पुल भत्किएपछि बन्दर अब्बास, बन्दर खमिर र लार जोड्ने सडक सम्पर्कसमेत अवरुद्ध भएको छ।
त्यस्तै, बन्दर अब्बासमा सञ्चार टावरमाथि भएको आक्रमणपछि विद्युत् आपूर्ति प्रभावित भएको तथा मोबाइल सञ्चार सेवा अवरुद्ध भएको जनाइएको छ। उक्त घटनामा सात जना घाइते भएका छन्।
क्युशम टापु, बुशेहर र अहवाज क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूको दाबी छ।
अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो कारबाहीको उद्देश्य इरानको सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ।
तर इरानले भने अमेरिकाले जानाजानी नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ। नागरिक संरचनामाथिको आक्रमणले जनजीवन प्रभावित भएको र यातायात तथा सञ्चार सेवा अवरुद्ध भएको इरानको दाबी छ।
इरानी अधिकारीहरूका अनुसार युद्धविरामपछि पुनः सुरु भएका अमेरिकी आक्रमणका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ भने करिब ४०० जना घाइते भएका छन्।
यस घटनाक्रमसँगै पश्चिम एसियामा तनाव थप चर्किएको छ। विशेषगरी होर्मुज जलमार्ग आसपासको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, समुद्री व्यापार तथा क्षेत्रीय सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने चिन्ता बढेको छ।
