साउनको रौनक: इन्द्रचोकमा हरिया चुरा–पोते किन्न महिलाको भीड
काठमाडौं। साउन महिना सुरु भएसँगै राजधानीको इन्द्रचोकस्थित पोते बजारमा चहलपहल बढेको छ।
विशेषगरी हरिया, पहेँला र राता चुरा-पोते किन्ने महिलाको भीड बढ्न थालेपछि बजारमा रौनक फर्किएको हो।
साउनलाई हिन्दु महिलाहरूले भगवान् शिवप्रतिको आस्था र सौभाग्यसँग जोडेर मनाउने भएकाले यस महिनाभर हरियो चुरा, पोते र मेहेन्दी लगाउने परम्परा रहिआएको छ।
यही परम्पराअनुसार दैनिक रूपमा इन्द्रचोक र असन क्षेत्रमा किनमेल गर्नेको संख्या बढ्दै गएको व्यापारीहरू बताउँछन्।
विगत केही वर्षयता यो चलन हिन्दु समुदायमा मात्र सीमित नरही अन्य धर्मावलम्बी महिलामाझ पनि लोकप्रिय बन्दै गएको देखिन्छ। साउनको अवसरमा चुरा–पोतेसँगै मेहेन्दी लगाउने फेसन पनि बढ्दो क्रममा छ।
व्यापारीहरूका अनुसार वर्षभर सामान्य रहने पोतेको व्यापार साउन, तीज र विवाहको लगनका बेला भने उल्लेख्य रूपमा बढ्ने गर्छ। यही मौसममा हुने बढी कारोबारले साना व्यापारीलाई पनि राम्रो आम्दानी हुने गरेको उनीहरूको भनाइ छ।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र फेसनको संगम बनेको साउनले यस वर्ष पनि इन्द्रचोकको पोते बजारलाई फेरि एकपटक गुल्जार बनाएको छ।
तस्वीरहरू:









