हामीलाई धक्का लागेको छ, तर हामी समाप्त भएका छैनौँ -अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै त्यसले एमालेको यात्रालाई रोक्न नसक्ने बताएका छन्।
उनले एमाले कुनै दलको सहारामा टिकेको शक्ति नभई आफ्नै आधार र संगठनात्मक बलमा अघि बढ्ने पार्टी भएको स्पष्ट पारे।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले पछिल्ला राजनीतिक घटनाक्रमलाई संकेत गर्दै एमालेमाथि विभिन्न कोणबाट दबाब सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गरे।
उनले एमालेले विगतमा पनि अनेक चुनौती, राजनीतिक उतारचढाव र संकट पार गर्दै आफ्नो अस्तित्व जोगाएको स्मरण गराउँदै अहिलेको अवस्था पनि त्यस्तै परीक्षा भएको बताए।
‘हामीलाई धक्का लागेको छ, तर हामी समाप्त भएका छैनौँ। एमाले फेरि नवीकृत भएर अघि बढ्नेछ,’ उनले भने।
ओलीले एमालेलाई ‘स्वतन्त्र वृक्ष’सँग तुलना गर्दै पार्टी कुनै गठबन्धन वा बाह्य शक्तिको भरमा उभिएको नभएको बताए।
उनका अनुसार एमाले आफ्नै संगठन, विचार र जनाधारका कारण स्थापित भएको शक्ति हो। उनले अनुकूल परिस्थितिमा मात्रै होइन, प्रतिकूल अवस्थामासमेत संघर्ष गर्दै अघि बढ्नु नै एमालेको विशेषता रहेको दाबी गरे। ‘हामी आँधी, हुरी, बाढी र अनेक चुनौती पार गरेर यहाँसम्म आइपुगेका हौँ। अरूलाई समातेर उभिनुपर्ने अवस्था एमालेको होइन,’ उनले भने।
अध्यक्ष ओलीले आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउँदै चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
साथै, परिस्थिति जस्तोसुकै भए पनि एमाले आफ्नो राजनीतिक यात्राबाट विचलित नहुने उनको भनाइ थियो।
