`

‘समाज झूट पत्याउने अवस्थामा पुग्यो’ भन्दै एमाले अध्यक्ष ओलीको टिप्पणी

Nepal One HD १ साउन २०८३ १४:०६
नेकपा एमाले

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय समाजमा सत्यभन्दा झूटले बढी स्थान पाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले गलत सूचना र भ्रम फैलाउने प्रवृत्तिले सार्वजनिक बहस नै प्रभावित बनाएको बताएका हुन्।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आफ्नो पार्टीमाथि योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरे। उनका अनुसार सत्यलाई असत्य र असत्यलाई सत्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति अहिले झन् बढ्दो छ।

ओलीले ‘गोएबल्स शैली’को उदाहरण दिँदै तथ्यलाई उल्ट्याएर प्रस्तुत गर्ने अभ्यासले समाजलाई गलत दिशातर्फ धकेलिरहेको टिप्पणी गरे।

‘कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखाउने प्रवृत्ति अहिले झन् तीव्र भएको छ,’ उनले भने।

उनले यस्तो प्रचार शैलीका कारण मानिसहरू झूटलाई नै सत्य ठान्न थालेको अवस्था सिर्जना भएको भन्दै समाजमा तथ्यमा आधारित बहस र सत्यप्रतिको विश्वास कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे।

एमाले अध्यक्ष ओलीले सार्वजनिक जीवनमा जिम्मेवार सूचना प्रवाह र सत्यतथ्यमा आधारित संवादको आवश्यकता अझ बढेको उल्लेख गर्दै भ्रम र दुष्प्रचारविरुद्ध सचेत रहन आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *