विष्णु पौडेललाई रिहा गर्न विशेष अदालतको आदेश
काठमाडाैं। विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइएका पौडेलको शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलगायतलाई गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको स्रोत छिपाउने वातावरण बनाउन सहयोग गरेको आरोपमा विष्णु पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनी गरी १६ जना प्रतिवादीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको रकम असुल गर्न तथा उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफत गर्न मागदाबी गरेको छ।
