`

वेबसाइट सार्वजनिक कार्यक्रममा ओलीले के भने?

Nepal One HD १ साउन २०८३ १८:४६
नेकपा एमाले

काठमाडाैं। नेकपा (एमाले) यतिबेला राजनीतिक तथा संगठनात्मक चुनौतीको सामना गरिरहेको छ।  यो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संगठनलाई पुनः सुदृढ बनाउने र आफ्नै बलमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टीको वेवसाइटको नविन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले कुनै परिस्थितिबाट आत्तिने वा उत्साहमा मात्तिने दल नभई चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्ने राजनीतिक शक्ति भएको दाबी गरे।

ओलीले पछिल्लो राजनीतिक घटनाक्रमलाई संकेत गर्दै एमालेलाई कमजोर पार्ने र एक्ल्याउने प्रयास भइरहेको उल्लेख गरे। तर त्यस्ता प्रयासले पार्टीको अस्तित्व वा राजनीतिक यात्रा समाप्त नहुने उनको भनाइ थियो। उनका अनुसार एमाले कुनै अर्को शक्तिको सहारामा टिकेको संगठन होइन, बरु आफ्नै विचार, संगठन र जनाधारका आधारमा निर्माण भएको स्वतन्त्र राजनीतिक शक्ति हो। कठिन परिस्थितिमा पनि पार्टीले विगतमा अनेक उतारचढाव पार गर्दै आफूलाई स्थापित गरेको भन्दै आगामी दिनमा पनि पुनः नवीकृत भएर अघि बढ्ने विश्वास व्यक्त गरे।

पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता पनि औँल्याए। उनले संगठन कमजोर हुनुमा कार्यकर्तालाई पर्याप्त राजनीतिक तथा प्राविधिक प्रशिक्षण दिन नसक्नु एउटा कारण रहेको ओलीले स्वीकार गरे। विशेषगरी सूचना प्रविधिको बढ्दो प्रभावका बीच पार्टी समयअनुकूल ढङ्गले रूपान्तरण हुन नसक्दा गलत सूचना र डिजिटल प्रचारको प्रभावसँग प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न नसकेको उनको जिकिर थियो। 

ओलीका अनुसार वर्तमान राजनीतिक वातावरणमा गलत सूचना र भ्रम फैलाउने प्रवृत्ति तीव्र बनेको टिप्पणी गर्दै समाजमा सत्यलाई असत्य र असत्यलाई सत्यका रूपमा प्रस्तुत गर्ने शैली बढ्दै गएको छ। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत पार्टीविरुद्ध योजनाबद्ध रूपमा प्रचार भइरहेको उनको आरोप थियो। त्यसैले पार्टीले गरेका काम, नीति र दृष्टिकोण जनतासम्म तथ्यका आधारमा पुर्‍याउन कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्ने उनले निर्देशन समेत दिए।

प्रदेशमा फेरिँदै गएको राजनीतिक समीकरणका सन्दर्भमा अध्यक्ष ओलीले सहकार्य र संवादको माध्यमबाट सरकार सञ्चालन हुनुपर्ने आफ्नो चाहना रहेको बताए। प्रदेश सरकारबाट बाहिरिनुपर्ने अवस्था आए त्यसका लागि तयार रहेको बताएका ओलीले हालसम्म त्यसबारे अन्तिम निर्णय नभइसकेको स्पष्ट पारे। उनका अनुसार राजनीतिक सहकार्यलाई प्राथमिकता दिँदै तीन दल मिलेर अघि बढ्नु नै उपयुक्त विकल्प हो। यद्यपि परिस्थितिअनुसार आवश्यक निर्णय लिन पार्टी तयार रहेको उनले बताए।

कार्यक्रमका क्रममा ओलीले वर्तमान सरकारको भने चर्को आलोचना गरे। उनले सरकारले लोकतान्त्रिक मूल्यभन्दा दमनकारी शैलीलाई प्राथमिकता दिएको आरोप लगाए। नागरिकका गतिविधिमाथि अनावश्यक हस्तक्षेप, शान्तिपूर्ण विरोध प्रदर्शनमा कडाइ तथा प्रहरीको व्यवहारले लोकतान्त्रिक संस्कृतिमाथि प्रश्न उठाएको उनको जिकिर छ। 

त्यसैगरी, सार्वजनिक स्थल तथा सञ्चार संस्थाका कार्यालयअगाडि सवारीसाधन राखेर अवरोध सिर्जना गरिएका घटनाप्रति पनि उनले सरकारको आलोचना गरे। यस्ता गतिविधिमा संलग्नमाथि कारबाही नभएको भन्दै उनले त्यसले राज्य संयन्त्रको निष्पक्षतामाथि प्रश्न उठाएको बताए। जनताको सहिष्णुताको दुरुपयोग गर्दै त्रास सिर्जना गर्ने प्रयास लोकतान्त्रिक शासन व्यवस्थासँग मेल नखाने उनको तर्क थियो।

अध्यक्ष ओलीले पार्टीभित्र संगठनात्मक सुधार, सूचना प्रविधिमा रूपान्तरण, राजनीतिक चुनौतीको सामना र वर्तमान सरकारप्रतिको आलोचनालाई मुख्य विषय बनाएको देखिन्छ। उनले एमालेले विगतमा जस्तै कठिन परिस्थितिको सामना गर्दै पुनः सशक्त रूपमा अघि बढ्ने दाबी गर्दै कार्यकर्तालाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र तथ्यमा आधारित राजनीतिक संवादलाई प्राथमिकता दिन आह्वान गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *