`

राजीनामा दिने तयारीमा एमाले वागमती प्रदेशका मन्त्रीहरु

Nepal One HD २ साउन २०८३ १२:५४
नेकपा एमाले

हेटौंडा । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता साझेदारी अन्त्य भएसँगै वाग्मती प्रदेश सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिने भएका छन्।

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्देशनपछि सरकारमा रहेका मन्त्रीहरूले पदबाट बाहिरिने निर्णय गरेका हुन्। यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। 

तर, पार्टीको केन्द्रीय निर्देशन नआएका कारण अन्तिम समयमा निर्णय स्थगित गरिएको थियो। पछिल्लो केन्द्रीय राजनीतिक निर्णयसँगै प्रदेश सरकारबाट बाहिरिने प्रक्रिया अघि बढाइएको एमाले स्रोतले जनाएको छ।

हाल वाग्मती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको आगामी अवस्था, सरकार अल्पमतमा पर्छ वा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्ने विषय अब हुने राजनीतिक छलफलले टुंगो लगाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *