भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफल प्रक्षेपण
नयाँ दिल्ली। हैदराबादस्थित अन्तरिक्ष प्रविधि कम्पनी स्काईरूट एरोस्पेसले शनिबार भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो उपलब्धिलाई भारतको निजी अन्तरिक्ष उद्योगका लागि ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः०५ बजे गरिएको हो। प्रारम्भिक तालिकाअनुसार बिहान ११ः३० बजे प्रक्षेपण गर्ने योजना भए पनि उडान हुनुभन्दा करिब पाँच मिनेटअघि प्राविधिक जाँचका लागि काउन्टडाउन रोकिएको थियो। केही समयपछि सबै प्रणाली सुरक्षित रहेको पुष्टि भएपछि प्रक्रिया पुनः सुरु गरियो र रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रस्थान गर्यो।
समाचार एजेन्सी पीटीआईका अनुसार परीक्षण उडानलाई ‘मिशन आगमन’ नाम दिइएको छ। यस मिशनमार्फत विक्रम–१ ले विभिन्न प्राविधिक परीक्षणसँग सम्बन्धित पेलोड अन्तरिक्षमा बोकेको छ। साथै, रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र ‘कस्मिक ब्लूम’ नामक कलाकृति पनि साथमा लगेको छ।
स्काईरूट एरोस्पेसले यसअघि सन् २०२२ मा ‘विक्रम–एस’ नामक सबअर्बिटल रकेटको सफल प्रक्षेपण गरेको थियो। ‘विक्रम–१’ को सफल उडानसँगै भारतको निजी क्षेत्र अर्बिटल अन्तरिक्ष अभियानमा प्रवेश गरेको कम्पनीले जनाएको छ।
