`

कपी गर्नेका दिन गए अब

Nepal One HD २ साउन २०८३ १६:५४
विज्ञान-प्रविधि

काठमाडौं । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले प्रयोगकर्ताबीचको संवादलाई थप अर्थपूर्ण र सुरक्षित बनाउने उद्देश्यले आफ्नो रिप्लाई र फिड एल्गोरिदममा नयाँ परिवर्तन गरेको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले फलो गरेका तथा आफूलाई पनि फलो गर्ने (म्युचुअल फलोअर्स) का पोस्ट र रिप्लाईलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

एक्सका प्रोडक्ट प्रमुख निकिता बियरका अनुसार यसअघि साथीभाइ वा परिचित प्रयोगकर्ताका प्रतिक्रियालाई पर्याप्त प्राथमिकता नदिँदा रिप्लाई सेक्सनमा अपरिचित प्रयोगकर्ताबीच अनावश्यक विवाद, गालीगलौज र अस्वस्थ बहस बढी देखिने गरेको थियो।

उनका अनुसार नयाँ एल्गोरिदम लागू भएपछि प्रयोगकर्ताले आफ्ना चिनजानका वा समान रुचि भएका व्यक्तिहरूका प्रतिक्रिया पहिले देख्नेछन्। यसबाट अनावश्यक विवाद कम हुने, स्वस्थ संवादलाई प्रोत्साहन मिल्ने र प्लेटफर्ममा हुने छलफलको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

‘कम्युनिटीज’ फिचर बन्द

यसैबीच, एक्सले समान रुचिका प्रयोगकर्तालाई समूहमा आबद्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको ‘कम्युनिटीज’ फिचर पनि बन्द गरेको छ। कम्पनीले उक्त सेवा यस वर्षको अप्रिलमै हटाइसकेको जनाएको छ।

कम्पनीका अनुसार यो फिचर कुल प्रयोगकर्तामध्ये एक प्रतिशतभन्दा कम ले मात्र प्रयोग गर्दै आएका थिए। तर प्लेटफर्ममा आउने स्पाम, वित्तीय ठगी र मालवेयरसम्बन्धी करिब ८० प्रतिशत रिपोर्ट यही फिचरसँग सम्बन्धित रहेको पाइएको थियो।

कम प्रयोग हुने तर व्यवस्थापनमा धेरै स्रोत खर्चिनुपर्ने भएकाले कम्पनीले ‘कम्युनिटीज’ सेवा बन्द गर्दै अब प्लेटफर्मका मुख्य फिचर सुधार र प्रयोगकर्ता अनुभवलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने निर्णय गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *