प्रचण्डको चेतावनी : ‘मधेशमा कमजोर भयौं भने कम्युनिस्ट आन्दोलनले ठूलो मूल्य चुकाउँछ’
जनकपुरधाम। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा पार्टी सुदृढ बनाउन नसकिए देशको राजनीति र समग्र कम्युनिस्ट आन्दोलनले गम्भीर चुनौती सामना गर्नुपर्ने बताएका छन्।
मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेशलाई पार्टीको रणनीतिक केन्द्रका रूपमा चित्रण गरे। जनसंख्या, राजनीतिक प्रभाव र विकासको सम्भावनाका हिसाबले मधेश अत्यन्त महत्वपूर्ण प्रदेश भएकाले यहाँ संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए।
उनका अनुसार मधेशमा बलियो संगठन निर्माण गर्न सके पार्टी मात्र होइन, समग्र मधेश आन्दोलनले पनि नयाँ राजनीतिक शक्ति प्राप्त गर्नेछ। तर त्यसो गर्न नसकिए त्यसको असर राष्ट्रिय राजनीतिसँगै कम्युनिस्ट आन्दोलनमा समेत पर्ने उनले उल्लेख गरे।
‘मधेशमा पार्टी राम्रो बनाउन सकियो भने पार्टी, मधेश र मधेश आन्दोलन सबैका लागि बलियो शक्ति निर्माण हुन्छ,’ उनले भने, ‘तर यहाँ संगठन कमजोर रह्यो भने देश र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।’
प्रचण्डले आगामी दिनमा मधेश केन्द्रित संगठन विस्तार, जनसम्पर्क अभियान र कार्यकर्ता परिचालनलाई अझ प्रभावकारी बनाइने जानकारी पनि दिए। उनले पार्टीभित्र प्राप्त सुझावलाई समेट्दै संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका क्रममा प्रचण्डले हालै निर्वाचित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउँदै एकताबद्ध भएर संगठन निर्माणमा जुट्न निर्देशन दिएका थिए।
