नेदरल्यान्डसँग भिड्दै नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा नामिबियासँग ८ विकेटको फराकिलो हार बेहोरेको नेपाल आज जित निकाल्दै विश्वकप छनोटको सम्भावनालाई जीवित राख्ने लक्ष्यमा हुनेछ। लिग–२ को अंकतालिकामा शीर्ष चारभित्र स्थान बनाउन नेपालका लागि बाँकी खेलहरू निर्णायक बनेका छन्।
नेपालले हालसम्म २९ खेल खेल्दा ११ जित, १६ हार र २ खेलबाट अंक बाँड्दै २४ अंक जोडेको छ। समान अंक भए पनि रनरेटका आधारमा नेपाल पाँचौँ स्थानमा छ भने नामिबिया छैटौँ स्थानमा रहेको छ।
उता नेदरल्यान्ड्स २८ खेलबाट १४ जित, १० हार र ४ खेलमा अंक बाँड्दै ३२ अंकसहित तेस्रो स्थानमा छ। अमेरिका ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ।
नेपालले लिग–२ का अब बाँकी सात खेलमध्ये कम्तीमा ६ खेल जित्न सके शीर्ष चारमा पुगेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सोझै स्थान बनाउन सक्नेछ। त्यसपछि नेपालले अक्टोबरमा क्यानडा र अमेरिकाविरुद्धका खेल मात्र खेल्न बाँकी रहनेछन्।
यद्यपि, शीर्ष चारमा पुग्ने लक्ष्य कठिन बन्दै गए पनि नेपालका लागि एकदिवसीय (ओडीआई) मान्यता जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। लिग–२ को शीर्ष ६ मा रहन सके नेपालले आगामी चार वर्षका लागि ओडीआई मान्यता कायम राख्नेछ। त्यसका लागि नेपालले अबका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आवश्यक जित निकाल्नुपर्ने दबाबमा छ।
