लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेस र एमालेकै हो : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेस र एमालेकै काँधमा रहेको बताएका छन्।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पुराना राजनीतिक दलको योगदानलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गरे।
‘२००७, २०३६, २०४६ र २०६२/०६३ का आन्दोलनदेखि संविधान निर्माणसम्म पुराना राजनीतिक दलले नै नेतृत्व गरेका छन्,’ उनले भने, ‘अब लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र आवश्यक संशोधन पनि कांग्रेस र एमालेले नै गर्नुपर्छ।’
ओलीले नयाँ र पुराना दलका नाममा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै राजनीतिक दलबिनाको लोकतन्त्र सम्भव नहुने बताए।
उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने र नेतामाथि अनावश्यक प्रहार गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे।
