शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन : शंकर पोखरेल
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागढुंगा-सिस्ने खोला सुरुङमार्गको शिलान्यास शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले शिलालेखबाट नाम हटाएर इतिहास मेटाउन नसकिने बताएका छन्। ‘शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन,’ भन्दै उनले सरकारले लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कारविपरीत काम गरेको आरोप लगाए।
उनले जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै ‘प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन्’ भन्ने सन्देश वर्तमान सरकारले मनन गर्न नसकेको टिप्पणी गरे। पोखरेलका अनुसार कुनै पनि राष्ट्रिय गौरवको आयोजना निर्माणमा योगदान पुर्याएका व्यक्तिको नाम हटाएर इतिहासलाई फेरबदल गर्ने प्रयास लोकतान्त्रिक अभ्यासविपरीत हो।
उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले इतिहास र लोकतान्त्रिक मूल्यलाई बेवास्ता गर्दै प्रतिशोधपूर्ण निर्णयहरू गरिरहेको आरोप लगाउँदै यस्ता गतिविधिले अन्ततः सरकारलाई नै राजनीतिक रूपमा दुर्भाग्यपूर्ण अवस्थातर्फ धकेल्ने दाबी गरे।
