सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापको निगरानी र रोकथाम गर्न निर्देशन दिएका छन् ।लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आज अवलोकनपछि उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिए ।
कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताका साथ काम गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले भने, “असल मनसायका साथ गरिएको कामकारबाहीमा भएको कमी–कमजोरीको जिम्मा संगठनले लिनेछ ।”
महानिरीक्षक पौडेलले सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न निर्देशन दिए ।
उनले बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुन सक्ने गरी तालिमप्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
