सुरुङमार्ग सञ्चालनमा आएपछि झलनाथले भने, ‘मैले सुरु गरेको राष्ट्रिय संकल्प आज यथार्थ बन्यो’
काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै आफूले प्रधानमन्त्री हुँदा अघि सारेको दूरदर्शी राष्ट्रिय सङ्कल्प आज यथार्थमा परिणत भएको बताएका छन्।
हाल चीनको बेइजिङमा रहेका खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने लाखौं नागरिकले वर्षौंदेखि भोग्दै आएको ट्राफिक जाम र सास्ती अन्त्य गर्ने उद्देश्यले आफूले प्रधानमन्त्री बनेकै दिन यो आयोजना अघि बढाएको स्मरण गरेका छन्।
उनका अनुसार वि.सं. २०६७ माघ २३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणसम्बन्धी थियो। त्यसको चार दिनपछि २०६७ माघ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वीकृत गरेको र २०६८ सालमा नीतिगत रूपमा अघि बढाउने निर्णय गरिएको उनले उल्लेख गरेका छन्। आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत आयोजनाका लागि बजेट विनियोजन गरिएको पनि उनले स्मरण गरेका छन्।
खनालले आज सुरुङमार्ग सञ्चालनमा आउनु केवल एउटा पूर्वाधार परियोजना सम्पन्न हुनु मात्र नभई दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको सफल परिणाम भएको बताएका छन्।
उनले राष्ट्र निर्माण कुनै एक व्यक्ति वा सरकारको मात्र उपलब्धि नभई निरन्तरता, सहकार्य र सामूहिक उत्तरदायित्वको प्रतिफल हुने उल्लेख गर्दै आयोजना सम्पन्न गर्न योगदान पुर्याउने विभिन्न समयका सरकार, प्राविधिक, कर्मचारी, मजदुर तथा सहयोगी राष्ट्र जापानप्रति आभार व्यक्त गरेका छन्।
उनका अनुसार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गरेको छ।
यसले सुरक्षित, सहज र आधुनिक यातायात प्रणालीको विकास गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन र समग्र विकास यात्रालाई नयाँ गति दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्।
