अन्यौल र विवादमा ‘नयाँ एक रुपैयाँको सिक्का’
काठमाडौं। नेपाल राष्ट्र बैंकले छाप्न लागेको नयाँ एक रुपैयाँको सिक्कालाई लिएर यतिबेला व्यापक बहस सुरु भएको छ।
सामाजिक सञ्जालमा नयाँ सिक्काबाट नेपालको चुच्चे नक्सा हटाएर मुस्ताङस्थित ऐतिहासिक लो घेकेर (घार) गुम्बा राख्न लागिएको दाबी भाइरल भइरहेका बेला सरकार र नेपाल राष्ट्र बैंकका अधिकारीहरूको भनाइ भने एक-आपसमा बाझिएको देखिएको छ।
यसले सिक्काको वास्तविक डिजाइन के हुनेछ भन्ने विषयमा अन्योल थपिएको छ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सरकारले पठाएको प्रस्तावअनुसार एक रुपैयाँको सिक्काबाट हाल रहेको नेपालको नक्सा हटाएर लो घेकेर गुम्बाको आकृति राख्ने प्रस्ताव राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट स्वीकृत भइसकेको छ। स्रोतले असार २२ वा २३ गते बसेको बोर्ड बैठकबाट उक्त प्रस्ताव पारित भएको दाबी गरेको छ।
सरकारको सिफारिस तथा राष्ट्र बैंकअन्तर्गतको नोट तथा सिक्का डिजाइन तथा छपाइ समितिको सिफारिसका आधारमा बोर्डले निर्णय गरेको स्रोतको भनाइ छ। समितिको संयोजक स्वयं गभर्नर हुने भएकाले प्रस्ताव संस्थागत प्रक्रियाबाट अघि बढेको बताइएको छ।
बोर्डबाट स्वीकृत भएको भनिएको प्रस्तावमा सिक्काको आकृति मात्र होइन, यसको भौतिक स्वरूपमा पनि परिवर्तन गर्ने तयारी गरिएको छ। प्रस्तावअनुसार अहिलेको सुनौलो (गोल्डेन) रंगको सिक्कालाई चाँदीजस्तो (सिल्भर) रंगमा ल्याइने, आकार सानो बनाइने र तौल घटाइनेछ। हाल चार ग्राम तौल रहेको एक रुपैयाँको सिक्कालाई करिब ३.५ ग्राम वा सोभन्दा कम तौलको बनाउने योजना रहेको स्रोतले जनाएको छ।
राष्ट्र बैंकका अनुसार अहिले एक रुपैयाँको एउटा सिक्का उत्पादन गर्न नै करिब दुई रुपैयाँ ३५ पैसाभन्दा बढी खर्च लाग्ने भएकाले धातु, आकार र तौल परिवर्तन गरी उत्पादन लागत घटाउने उद्देश्य राखिएको हो। गोल्डेन मिश्रधातु लामो समयपछि रङ परिवर्तन हुने भएकाले पनि नयाँ धातु प्रयोग गर्ने तयारी गरिएको बताइएको छ।
यद्यपि सिक्कामा नेपालको नक्सा रहने कि नरहने भन्ने विषयमा राष्ट्र बैंकभित्रै फरक-फरक धारणा सार्वजनिक भएका छन्। राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने एक रुपैयाँको सिक्काबाट नेपालको नक्सा हटाउने निर्णय अन्तिम नभएको बताएका छन्।
उनका अनुसार गुम्बा वा आकाश भैरवको प्रतिमा राख्ने विषयमा पनि कुनै अन्तिम टुंगो लागेको छैन र नेपालको नक्सा रहने विषयमा आफू विश्वस्त रहेको दाबी गरेका छन्। यसले बोर्ड स्रोत र आधिकारिक प्रवक्ताको भनाइबीच स्पष्ट विरोधाभास देखिएको छ।
यसअघि सामाजिक सञ्जालमा चुच्चे नक्सासँगै आकाश भैरवको प्रतिमा राखिएको सिक्काको नमुना तस्बिर पनि भाइरल भएको थियो। तर राष्ट्र बैंक स्रोतले त्यस्तो कुनै डिजाइन बोर्डबाट स्वीकृत नभएको र ती तस्बिर आधिकारिक नभएको स्पष्ट पारेको छ। यसले वास्तविक डिजाइनबारे थप अन्योल सिर्जना गरेको छ।
यसैबीच, गत असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँका सिक्का टकमरी गर्न स्वीकृति दिएको थियो। तर सरकारले सार्वजनिक गरेको निर्णयमा सिक्काको रङ, आकार, तौल वा त्यसमा रहने आकृतिबारे कुनै विवरण खुलाइएको थिएन। यही कारण विभिन्न अनुमान र चर्चा चुलिएका छन्।
विवादको केन्द्रमा रहेको लो घेकेर (घार) गुम्बा मुस्ताङको लो घेकेर दामोदरकुण्ड गाउँपालिका-१ मा अवस्थित नेपालको सबैभन्दा पुराना बौद्ध गुम्बामध्ये एक हो। आठौँ शताब्दीमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) ले स्थापना गरेको मानिने यो गुम्बा तिब्बती बौद्ध धर्मको न्यिङमा सम्प्रदायसँग सम्बन्धित छ।
कतिपय इतिहासकारले यसलाई तिब्बतको प्रसिद्ध सम्ये गुम्बाभन्दा पनि पुरानो मान्छन्। २०७२ सालको भूकम्पपछि अमेरिकी दूतावास, गण्डकी प्रदेश सरकार र स्थानीय तहको सहयोगमा यसको पुनःनिर्माण र संरक्षणको काम भइरहेको छ। पछिल्ला वर्षहरूमा यो गुम्बा धार्मिक तथा पर्यटकीय दृष्टिले पनि आकर्षणको केन्द्र बनेको छ।
तर सिक्कामा राष्ट्रिय पहिचानको प्रतीक मानिने चुच्चे नक्सा हटाएर धार्मिक तथा सांस्कृतिक सम्पदा राख्ने प्रस्तावको चर्चा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ।
कतिपयले नेपालको सार्वभौमिकताको प्रतीक नक्सा हटाउन नहुने तर्क गरेका छन् भने अर्कोतर्फ ऐतिहासिक सम्पदालाई राष्ट्रिय सिक्कामा स्थान दिनु सकारात्मक कदम हुने मत पनि व्यक्त भइरहेको छ। केहीले यसलाई भूराजनीतिक कोणबाट समेत हेरेका छन्।
हालसम्म नेपाल सरकारले नयाँ एक रुपैयाँको सिक्काको अन्तिम डिजाइन सार्वजनिक गरेको छैन। राष्ट्र बैंकका विभिन्न तहबाट आएका फरक-फरक भनाइ र सामाजिक सञ्जालमा फैलिएका विभिन्न नमुना डिजाइनका कारण यो विषय अझै अन्योलमै छ।
