`

सामाजिक सद्भाव कायम राख्न डा. धवलशमशेर राणाको अपिल

Nepal One HD १५ साउन २०८३ १२:५३
प्रमुख खबर

काठमाडौं। तराईका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै डा. धवलशमशेर राणाले सामाजिक सद्भाव कायम राख्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकार तथा सबै पक्षसँग अपिल गरेका छन्।

राणाले विविध धर्म, संस्कृति, भाषा, जातजाति र परम्पराबीचको सहिष्णुता नेपाली समाजको विशिष्ट पहिचान भएको उल्लेख गर्दै यही सामाजिक एकता र सद्भावलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन्।

सुनसरीको देवानगन्ज र कप्तानगन्जबाट सुरु भएको विवाद मधेश प्रदेशका अन्य जिल्लासम्म फैलिँदा तराई क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेको उनको भनाइ छ। झडप, विरोध प्रदर्शन तथा आगजनीका कारण जनजीवन प्रभावित हुनुका साथै जनधनको क्षति भएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।

संवेदनशील अवस्थामा सरकार पूर्ण रूपमा जिम्मेवार भएर तत्काल शान्ति सुव्यवस्था कायम गर्नुपर्ने राणाले बताएका छन्। उनले आम नागरिकको जिउधनको रक्षा गर्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग आग्रह गरेका छन्।

त्यस्तै, तनाव अन्त्यका लागि वार्ता र संवादलाई प्राथमिकता दिन तथा समस्या समाधानका लागि शान्तिपूर्ण बाटो रोज्न उनले सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।

धैर्य र संयमता अपनाउँदै आपसी सद्भाव तथा सामाजिक एकता जोगाउनुपर्नेमा जोड दिँदै राणाले वर्तमान परिस्थितिमा कुनै पनि पक्षबाट उत्तेजित गतिविधि नगर्नसमेत अपिल गरेका छन्।

उनको अपिल यस्तो छ :

सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको प्रत्याभूति गर्न हार्दिक अपिल

अनेकतामा एकता, हामीबिचको सौन्दर्य हो। विविध आस्था, धर्म, संस्कृति, परम्पराबिचको सद्भाव, सम्मान र मिलन नेपाली समाजको विशिष्टता हो। भौगोलिक विभिन्नता जस्तै विविध जातजाति, भाषा, भेषभूषा एवं रितिथिति नेपाल र नेपालीको मौलिकता हो। यही गौरवशाली इतिहास र निरन्तरताको प्रतिफल एकतावद्ध नेपाल कहिले पराधीन भएन। बहुलता र विविधताको सम्मान गर्ने सहिष्णु मान्यताबाटै सामाजिक सद्भाव र आपसी एकता मजबुत रहँदै आयो। आजको समयमा पनि सामाजिक सहिष्णुता र सद्भावको विरासत बचाएर राख्नु हामी सबैको साझा कर्तव्य हो।

सुनसरीको देवानगन्ज र कप्तानगन्जबाट पछिल्ला दिन सुरु भएको विवाद मधेश प्रदेशका अन्य जिल्लाहरूमा समेत फैलिएको छ। आपसी द्वन्द्व र अशान्तिबिच तराई क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील बनेको छ र जनजीवन अस्तव्यस्त बनेको छ। झडप, विरोध प्रदर्शन र आगजनीका कारण जनधनको क्षति भएको छ।

यस संवेदनशील घडीमा पूर्ण रुपमा जिम्मेवार बनेर शान्ति सुव्यवस्था तत्काल कायम गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु। साथै, आम नागरिकको जिउधनको रक्षा गर्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग जोडदार माग गर्दछु।

वार्ता र संवादबाट तनाव अन्त्य गर्न, शान्तिको विकल्पबाट समाधान खोज्न, र धैर्य एवं संयमताबाट आपसी सद्भावको रक्षा गर्न म सम्पूर्ण सरोकारवाला पक्षहरूलाई हार्दिक अपिल गर्दछु।

डा. धवलशम्सेर राणा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *