‘भदौ २४’ का प्रायोजकमाथि कारबाही नभएसम्म स्थिरता नआउने गोकुल बास्कोटाको टिप्पणी
काठमाडौं – नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले ‘भदौ २४’ को घटनाका प्रायोजक र संलग्नमाथि कारबाही नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले भदौ २४ को घटनालाई ‘प्रायोजित आतंकवादी आमहिंसा’ को संज्ञा दिएका छन्। उनले त्यस घटनाका जरा नष्ट नगरेसम्म देश अराजकता र अस्थिरताबाट मुक्त हुन नसक्ने दाबी गरेका छन्।
उनले सरकारलाई लक्षित गर्दै घटनाका दृश्य र अदृश्य प्रायोजकको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रश्न गरेका छन्।
बास्कोटाले लेखेका छन्, ‘गएको भदौ २४ को प्रायोजित आतंकवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजकता र अस्थिरताबाट तंग्रिन सक्दैन। त्यो धतुरे झाडी फाँड्न त्यही जगमा सिरानी हालेर सुतेको यो सरकार तत्पर छ? दृश्य–अदृश्य प्रायोजक को थिए? दण्डहीनताको रक्षा स्वीकार्य छैन। बोल सरकार, एक फेरि बोल!’
