`

तुलसीलाल अमात्य र भीमदत्त पन्तको विरासत अघि बढाउन ओलीको आग्रह

Nepal One HD १७ साउन २०८३ ९:०१
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट तथा किसान आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई निरन्तरता दिन आग्रह गरेका छन्।

अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आइतबार जारी श्रद्धाञ्जली सन्देशमा अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक र संगठनात्मक रूपमा सुदृढ बनाउन खेलेको भूमिकाको स्मरण गरेका छन्।

सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले ‘जसको जोत, उसको पोत’ भन्ने नारासहित किसानलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको उल्लेख गर्दै ओलीले निरंकुशताविरुद्धको संघर्ष र वामपन्थी आन्दोलनमा उनको योगदान नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहने बताएका छन्।

श्रद्धाञ्जली सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्ध संघर्ष गर्ने निर्भीक र क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरिएको छ। ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नारासहित पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानको आन्दोलनको नेतृत्व गरेको ओलीले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *