कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा, इतिहासबाट पाठ सिक्नुपर्ने पोखरेलको भनाइ
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इतिहासबाट शिक्षा लिन नसक्दा कम्युनिष्ट आन्दोलन संकटमा पुगेको बताएका छन् ।
आज २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताए ।
उनले भने, ‘हामीले हाम्रो इतिहासका गुनगान त धेरै गायौं, तर इतिहासको पाठ सिक्न सकेनौं । त्यसकै कारण आज कम्युनिष्ट आन्दोलन संकटमा छ, रक्षात्मक अवस्थामा छ । इतिहासको भारी बोकेर होइन, इतिहासले दिएको शिक्षाका आधारमा वर्तमानका चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्दै भविष्यको संकल्पका साथ आन्दोलनलाई अघि बढाउन सके मात्रै आन्दोलनले जीवन्तता प्राप्त गर्न सक्छ ।’
उनले वामपन्थी दलहरूबीच प्रयोग हुने घृणायुक्त भाषाले वामपन्थी मतदातालाई निराश बनाएको पनि बताए ।
