ओलीसँगको वादविवादमा ढले जगन्नाथ
काठमाडौं। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अध्यक्ष केपी शर्मा ओलीले थर्काएपछि बोल्दाबोल्दै ढलेको कुरा बाहिरिएको छ।
सोमबार साँझ एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा बागमती प्रदेश सरकार गठन र संसदीय दलको नेतृत्वबारे छलफलका लागि बैठक बोलाइएको थियो। बैठकमा प्रदेश इन्चार्ज, प्रदेशका सांसद तथा पार्टीका शीर्ष नेताहरू सहभागी थिए। छलफलको मुख्य विषय नयाँ सरकार गठन र त्यसको नेतृत्व कसले गर्ने भन्ने थियो।
स्रोतहरूका अनुसार बैठकको सुरुदेखि नै अधिकांश सहभागीले जगन्नाथ थपलियाले अब संसदीय दलको नेतृत्व छाड्नुपर्ने धारणा राखेका थिए। उनीबाट सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने, विशेषगरी सरकार गठनका लागि आवश्यक राजनीतिक सहमति जुटाउन कठिन हुने तर्क बैठकमा बारम्बार उठाइएको बताइन्छ।
छलफलमा सहभागी अधिकांश सांसदले राप्रपासहित अन्य दलको समर्थन जुटाउन थपलियाको भूमिका प्रभावकारी नहुने तर्क गरेका थिए। एकपछि अर्को नेताले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेपछि बैठकको वातावरण थपलियाका लागि असहज बन्दै गएको थियो।
बैठकमा प्रदेश इन्चार्ज महेश बस्नेतले पनि अन्ततः पार्टी अध्यक्षको निर्णय कार्यान्वयन हुने संकेत दिएका थिए। त्यसक्रममा थपलियाले आफू पनि लामो समयदेखि पार्टीका लागि काम गरेको नेता भएको स्मरण गराउँदै आफ्नो पक्ष राख्ने प्रयास गरेका थिए।
लगातार नेतृत्व परिवर्तनको दबाब र आफ्नै सहकर्मीबाट योग्यता माथि प्रश्न उठाइएपछि थपलिया भावुक बनेका थिए। आफूले पाँच दशकभन्दा बढी समय पार्टीका लागि योगदान दिएको उल्लेख गर्दै अहिले अचानक आफूलाई अयोग्य ठहर गरिनुको कारणबारे उनले प्रश्न उठाएको स्रोतहरूको दाबी छ।
उनी बोलिरहेकै क्रममा स्वास्थ्य अवस्था बिग्रिएर अचेत भएपछि बैठकमा केहीबेर तनाव सिर्जना भएको थियो। त्यसपछि सांसद केशव पोखरेल, दावा दोर्जे लामा लगायतले उनलाई तत्काल मध्यपुर ठिमी अस्पताल पुर्याएका थिए।
थपलियालाई उपचारका लागि अस्पताल लगिएपछि पनि गुन्डुमा बैठक भने रोकिएन। सरकार गठन र नेतृत्व परिवर्तनको विषयमा छलफल मध्यरातसम्म चलेको बताइएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विषयमा आफ्नो धारणा स्पष्ट राख्दै सरकार सञ्चालनका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका स्रोतहरूको भनाइ छ। साथै राप्रपाको समर्थन जुटाउन सक्ने नेताले नै सरकारको नेतृत्व गर्ने संकेत पनि उनले दिएको बताइन्छ।
बैठकमा सहभागी १७ जना सांसदमध्ये अधिकांशले यसअघि नै किरण थापामगरलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरिसकेको चर्चा पनि भएको थियो। यसले थपलियामाथिको दबाब अझ बढाएको बताइन्छ।
यद्यपि केही दिनअघि अध्यक्ष ओलीले थपलियालाई नै मुख्यमन्त्री बनाउने आश्वासन दिएको चर्चा भएकाले उनी नेतृत्व परिवर्तनको विषय यति छिटो अगाडि बढ्ने अपेक्षामा थिएनन्। यही कारण गुन्डुमा भएको छलफल उनको अपेक्षाभन्दा बिल्कुल फरक दिशामा गएको स्रोतहरूको दाबी छ।
