`

बाघ बढेसँगै बढ्यो वासस्थान र सहअस्तित्वको चुनौती

समिन बरुवाल २० साउन २०८३ १४:३७
अर्थ समाचार

काठमाडौं। नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा यसको वासस्थान र आवागमनसँग सम्बन्धित नयाँ तथ्यहरू पनि सार्वजनिक भएका छन्।

पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षणले नेपालका नदी तटीय क्षेत्र बाघका लागि महत्वपूर्ण वासस्थानका रूपमा देखाएको छ। विशेषगरी चितवनको राप्ती र बर्दियाको कर्णाली नदी आसपास बाघको उपस्थिति तुलनात्मक रूपमा बढी पाइएको छ।

‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार नदी किनारका क्षेत्रमा बाघको सङ्ख्या बढी देखिएको छ भने मानव गतिविधि बढी हुने वन क्षेत्रमा बाघको उपस्थिति तुलनात्मक रूपमा कम पाइएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार चितवनको राप्ती नदी आसपास बाघको उपस्थिति उल्लेख्य देखिएको छ। तर, कञ्चनपुरको लालझाडी क्षेत्रमा वन अतिक्रमण, मानिसको आवतजावतलगायत कारणले बाघको उपस्थिति निकै कम देखिएको उनले बताए।

पछिल्लो सर्वेक्षणले नेपालमा बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखाएको छ। सन् २०२२ को गणनामा ३५५ वटा बाघ रहेकोमा अहिले यो सङ्ख्या बढेर ४२९ पुगेको छ।

देशका प्रमुख पाँच बाघ पाइने संरक्षित क्षेत्रमा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १४५ वटा बाघ भेटिएका छन्। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ गणना गरिएको छ।

यसअघि सन् २०२२ मा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेको तथ्याङ्क थियो।

नेपालमा बाघको सङ्ख्या क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ। सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्या सन् २०१४ मा १९८ र सन् २०१८ मा २३५ पुगेको थियो। त्यसपछि सन् २०२२ मा ३५५ हुँदै पछिल्लो गणनामा ४२९ पुगेको हो।

नेपालले सन् २००९ देखि हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणना गर्दै आएको छ।

नदी तथा खोला आसपासका क्षेत्र बाघका लागि पानीको स्रोतसँगै आहारा र आवरणका हिसाबले पनि महत्वपूर्ण मानिन्छन्। यस्ता क्षेत्रमा चित्तल, जरायो, बँदेल, बाह्रसिङ्गेलगायत बाघका आहारा प्रजातिको उपलब्धता हुने भएकाले बाघको आवागमन बढी हुने गरेको संरक्षणकर्मीहरूको भनाइ छ।

पछिल्लो सर्वेक्षणमा बाघका आहारा प्रजातिको अवस्थासमेत अध्ययन गरिएको थियो। त्यस क्रममा सबैभन्दा बढी चित्तल भेटिएको छ। त्यसपछि जरायो, बाह्रसिङ्गे, बँदेल, लगुना र रतुवा मृगलगायत प्रजाति बाघका प्रमुख आहाराका रूपमा देखिएका छन्।

तर, बाघका लागि पर्याप्त आहारा हुँदाहुँदै पनि उनीहरू लामो दूरीसम्म आवतजावत गर्ने गरेको नयाँ तथ्य सर्वेक्षणले देखाएको छ।

वरिष्ठ इकोलोजिस्ट आचार्यका अनुसार चितवनको कसरादेखि पर्साको अमलेखगञ्जसम्म एउटा बाघको करिब एक महिनासम्मको लामो दूरीको आवागमन देखिएको छ। यस्तो आवागमन भाले बाघबीच क्षेत्र कायम गर्ने प्रतिस्पर्धा वा पोथीको खोजीसँग सम्बन्धित हुन सक्ने उनको अनुमान छ।

यसले बाघको वासस्थान संरक्षित क्षेत्रको सीमाभित्र मात्र सीमित नभई वन तथा जैविक मार्ग हुँदै लामो दूरीसम्म फैलिएको देखाउँछ।

पछिल्लो सर्वेक्षणमा बाघको लैङ्गिक संरचनासम्बन्धी तथ्य पनि सार्वजनिक भएको छ। गणना गरिएका बाघमध्ये करिब ३४ प्रतिशत भाले र ५३ प्रतिशत पोथी रहेको पाइएको छ। केही तस्बिरबाट भने बाघको लिङ्ग पहिचान गर्न नसकिएको विभागले जनाएको छ।

बाघको प्रजनन र जनसङ्ख्या वृद्धिका दृष्टिले यो तथ्य महत्वपूर्ण मानिएको छ। पर्याप्त आहारा, सुरक्षित वासस्थान र जैविक मार्गको संरक्षणले बाघको सङ्ख्या वृद्धिमा सकारात्मक प्रभाव पारेको संरक्षणकर्मीहरूको बुझाइ छ।

जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले पछिल्लो सर्वेक्षणको नतिजाले बाघको वासस्थान संरक्षण तथा व्यवस्थापन, चोरी–सिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण र जैविक मार्ग संरक्षणमा भएका प्रयासको सकारात्मक परिणाम देखाएको बताए।

उनका अनुसार सर्वेक्षणबाट प्राप्त तथ्याङ्क आगामी दिनमा बाघ र यसको वासस्थान संरक्षणसम्बन्धी नीति, योजना तथा कार्यक्रम बनाउन वैज्ञानिक आधार बन्न सक्छ।

तर बाघको सङ्ख्या बढ्नु मात्र संरक्षणको सफलता नभई मानिस र बाघबीचको सम्बन्धलाई सुरक्षित र सन्तुलित बनाउनु अर्को ठूलो चुनौती रहेको संरक्षणकर्मीहरूको भनाइ छ।

नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा मानव–बाघ द्वन्द्व पनि संरक्षणको महत्वपूर्ण विषय बनेको छ। वन क्षेत्र विस्तार, जैविक मार्गमा मानवीय गतिविधि तथा बाघको प्राकृतिक वासस्थान आसपास बढ्दो बस्तीका कारण मानिस र बाघको जम्काभेट हुने सम्भावना बढ्दै गएको छ।

डा. दाहालले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायको आयआर्जनका वैकल्पिक उपाय विकास गर्नुपर्ने र बाघप्रतिको मानिसको व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने बताए।

बाघले प्राकृतिक रूपमा धान्न सक्ने जनसङ्ख्या र वासस्थानको क्षमताबारे थप अध्ययन आवश्यक रहेको उनको भनाइ छ।

संरक्षणको नाममा स्थानीय समुदायको जीवन र सुरक्षालाई बेवास्ता गर्न नहुने भन्दै संरक्षणबाट समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण निर्माण गर्नुपर्नेमा संरक्षणकर्मीहरूले जोड दिएका छन्।

सरकारले बाघ संरक्षणलाई पर्यापर्यटनसँग जोडेर स्थानीय समुदायको आयआर्जन बढाउने रणनीति अघि सारेको छ।

वनमन्त्री गीता चौधरीले बाघको दिगो संरक्षणका लागि सङ्घ, प्रदेश, स्थानीय तह, समुदाय र संरक्षण साझेदार संस्थाबीच सहकार्य आवश्यक रहेको बताएकी छन्।

उनका अनुसार स्थानीय समुदायको सहभागिता र स्वामित्व संरक्षणको आधार हो। बाघ संरक्षणसँगै त्यसबाट प्राप्त हुने आर्थिक तथा सामाजिक लाभ स्थानीय समुदायसम्म पुर्‍याउनुपर्ने सरकारको नीति छ।

बाघमा आधारित पर्यटनमार्फत रोजगारी सिर्जना, स्थानीय आयआर्जन वृद्धि र समुदायमा संरक्षणप्रतिको अपनत्व बढाउन सकिने सरकारको विश्वास छ।

निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी दिनमा मानव–बाघ सहअस्तित्व, बाघको आनीबानीसम्बन्धी सचेतना, समस्याग्रस्त बाघको समयमै पहिचान तथा व्यवस्थापन र बाघमा आधारित पर्यापर्यटनलाई प्राथमिकतामा राख्ने जनाएको छ।

बाघ नेपालसहित एसियाका सीमित देशमा मात्र पाइन्छ। नेपालबाहेक भारत, चीन, बङ्गलादेश, भुटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मार, रुस, थाइल्यान्ड र भियतनाममा बाघको प्राकृतिक वासस्थान रहेको छ।

विश्वमा पनि पछिल्ला वर्षमा बाघको सङ्ख्या बढेको तथ्याङ्क छ। सन् २०१० मा विश्वभर करिब ३ हजार २०० बाघ रहेकोमा सन् २०२५ सम्म आइपुग्दा यो सङ्ख्या ५ हजार ३५७ पुगेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *