`

विविधताबीचको एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ भन्दै बोले एमालेका अध्यक्ष ओली

Nepal One HD २४ साउन २०८३ ७:५७
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य थप मजबुत बनाउने बताएका हुन्।

उनले भनेका छन्, ‘नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामीबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउनेछ।’

ओलीले नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गरेका छन्।

विश्व आदिवासी दिवसका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायमा शुभकामना व्यक्त गर्दै उनीहरूको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

साथै, समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन उनले सबैमा आह्वान गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *