`

आज विश्व हात्ती दिवस : सुरक्षित करिडोर र मानव-हात्ती सहअस्तित्वमा जोड

Nepal One HD २७ साउन २०८३ ११:५१
फिचर

काठमाडौं। आज विश्व हात्ती दिवस। नेपालमा पनि वन्य हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्तीका प्राकृतिक आवागमन मार्गको संरक्षणमा जोड दिँदै विभिन्न कार्यक्रममार्फत दिवस मनाइँदैछ।

यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ। हात्ती संरक्षणका लागि वन क्षेत्र जोगाउनुका साथै एक वन क्षेत्रलाई अर्को क्षेत्रसँग जोड्ने प्राकृतिक आवागमन मार्ग अर्थात् करिडोर सुरक्षित राख्नुपर्ने सन्देश दिवसले दिएको छ।

विश्वमा हात्तीका तीन जीवित प्रजाति पाइन्छन्। अफ्रिकी सवाना हात्ती, अफ्रिकी वन हात्ती र एसियाली हात्तीमध्ये नेपालमा एसियाली हात्ती पाइन्छ।

नेपालमा करिब २५० देखि ४०० वटा वन्य हात्ती रहेको अनुमान छ। यसबाहेक करिब २०० वटा घरपालुवा हात्ती रहेको बताइन्छ। वन्य र घरपालुवा दुवै हात्ती संरक्षणका फरक–फरक पक्षसँग जोडिएका छन्।

वन्य हात्ती नेपालको वन, जैविक विविधता र पारिस्थितिक प्रणालीका महत्वपूर्ण अंग हुन्। हात्तीलाई आफ्नो जीवनचक्र पूरा गर्न ठूलो भूभाग आवश्यक पर्ने भएकाले उनीहरू आहार, पानी र प्रजननलगायतका आवश्यकताका लागि एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्छन्।

यस क्रममा हात्तीले पुस्तौँदेखि प्रयोग गर्दै आएका परम्परागत बाटो तथा करिडोर उपयोग गर्ने गरेका छन्। तर, पछिल्ला वर्षमा वन क्षेत्र खण्डीकरण, बस्ती विस्तार, कृषि क्षेत्र बढ्नु तथा सडक, विद्युत् र अन्य पूर्वाधार निर्माणले यस्ता प्राकृतिक मार्गमा दबाब बढाएको छ।

आवागमन मार्ग अवरुद्ध हुँदा हात्ती बस्ती तथा खेतीयोग्य क्षेत्रमा प्रवेश गर्ने क्रम बढेको छ। यसले मानव-हात्ती द्वन्द्वलाई थप जटिल बनाउँदै लगेको संरक्षणकर्मीहरूको बुझाइ छ।

हात्तीका कारण बाली नष्ट हुने, घर तथा अन्य भौतिक संरचनामा क्षति पुग्ने घटनासँगै मानिस र हात्ती दुवै घाइते हुने तथा ज्यान जाने घटना पनि हुने गरेका छन्।

यसले हात्ती संरक्षणलाई वन्यजन्तुको संरक्षणको विषय मात्र नभई स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जनसँग जोडिएको विषय बनाएको छ।

मानव–हात्ती द्वन्द्व घटाउन हात्तीका परम्परागत आवागमन मार्ग पहिचान तथा संरक्षण गर्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली विकास गर्ने, स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने तथा क्षति न्यूनीकरणका प्रभावकारी उपाय कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।

नेपालले हात्ती संरक्षणलाई प्राथमिकता दिँदै सन् २०२५ देखि २०३५ सम्मका लागि दसवर्षे हात्ती संरक्षण कार्ययोजना अघि सारेको छ। कार्ययोजनाले हात्तीको बासस्थान तथा करिडोर संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण र समुदायमा आधारित संरक्षणलाई प्राथमिकतामा राखेको छ।

हात्तीको संरक्षणका लागि वन क्षेत्र मात्र सुरक्षित राखेर पर्याप्त नहुने संरक्षणकर्मीहरूको भनाइ छ। हात्तीले नियमित रूपमा प्रयोग गर्ने वन क्षेत्रबीचका आवागमन मार्गसमेत सुरक्षित राख्न सके मात्र उनीहरूको प्राकृतिक गतिविधि सहज हुन सक्छ।

नेपालमा वन्य हात्तीका साथै घरपालुवा हात्ती पनि छन्। पर्यटन, वन्यजन्तु संरक्षण तथा विभिन्न पर्यटकीय गतिविधिमा प्रयोग हुँदै आएका घरपालुवा हात्तीको कल्याण र उचित व्यवस्थापन पनि संरक्षणको महत्वपूर्ण पक्ष हो।

त्यसैले हात्ती संरक्षणको बहस वन्य हात्तीको संख्या र बासस्थानमा मात्र सीमित नराखी घरपालुवा हात्तीको स्वास्थ्य, कल्याण, उचित हेरचाह तथा मानवीय व्यवहारसँग समेत जोडिनुपर्ने आवश्यकता छ।

विश्व हात्ती दिवसले नेपालमा हात्ती र मानवबीच सहअस्तित्व कायम गर्ने दीर्घकालीन उपाय खोज्नुपर्ने सन्देश दिएको छ।

तस्वीरहरू:


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *