किशोर श्रेष्ठको पक्राउप्रति शंकर पोखरेलको आपत्ति, ‘तत्काल रिहा गरियोस्’
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले समाचारको स्रोत वा विषयवस्तुप्रति असहमति भए खण्डन गर्ने, प्रेस काउन्सिलमा जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहेको बताएका छन्।
तर, समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम भएको उनको दाबी छ।
पोखरेलले भनेका छन्, ‘कहिलेकाहीँ समाचारका स्रोत वा विषयवस्तुमा असहमति हुन सक्छ; त्यसका लागि खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहन्छ।’
किशोर श्रेष्ठ निडर र साहसिक पत्रकारिताका लागि परिचित रहेको उल्लेख गर्दै उनले अग्रज पत्रकारको आवाज दबाउँदा धेरै सत्य र रहस्य सधैँका लागि हराउने जोखिम रहेको बताएका छन्।
श्रेष्ठमाथिको गिरफ्तारीलाई ‘गैरन्यायिक र प्रतिशोधपूर्ण’ भन्दै पोखरेलले त्यसको कडा विरोध गरेका छन्।
उनले श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
