`

१५ अगस्त : देश स्वतन्त्र भयो, हामी?

राधे ३० साउन २०८३ १५:३४
अन्तर्वार्ता/बिचार

१५ अगस्तमा भारतभरि राष्ट्रिय झण्डा फहरिन्छ। विद्यालयदेखि सरकारी कार्यालयसम्म देशभक्तिका गीत गुञ्जिन्छन्, स्वतन्त्रता सेनानीहरूलाई सम्झिइन्छ र देशको स्वतन्त्रताको इतिहासलाई स्मरण गरिन्छ। 

यो दिन भारतका लागि राष्ट्रिय पर्व मात्र नभई, संघर्ष, त्याग र बलिदानबाट प्राप्त स्वतन्त्रताको अर्थ बुझ्ने अवसर पनि हो।

सन् १९४७ मा भारत विदेशी शासनबाट मुक्त भयो। लाखौँ मानिसको संघर्ष र बलिदानपछि प्राप्त स्वतन्त्रताले भारतीय जनतालाई आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकार दियो। यो इतिहास निश्चय नै गौरवपूर्ण छ।

तर १५ अगस्तसम्म आइपुग्दा हामीले एक प्रश्न अवश्य आफुले आफैलाई सोध्न जरुरी छ – ‘देश स्वतन्त्र भयो, तर के हामी आफैँ पनि स्वतन्त्र भयौँ?’

बाहिरी शासनका बन्धन तोडिए। आफ्नै देश, आफ्नै शासन र आफ्नै निर्णयको अधिकार प्राप्त भयो। तर आफ्नै मनभित्र रहेका बन्धनहरू कति तोडिए?

कहिलेकाहीँ कसैले एउटा शब्द भनिदिँदा हामी दिनभरि रिसाइरहन्छौँ। अरूको प्रगतिले ईर्ष्या जगाउँछ। सानो अपमानलाई मनमा बोकेर सम्बन्ध बिगार्छौँ। असफलताको डरले निर्णय लिन सक्दैनौँ। लोभ, मोह, अहंकार र क्रोधले पटक-पटक हाम्रो व्यवहारलाई नियन्त्रण गर्छ।

देश स्वतन्त्र भयो,बाहिरबाट हामी स्वतन्त्र नागरिक देखिन्छौँ। तर भित्र भने कुनै न कुनै भावना, डर वा विकारको कैदी हुन सक्छौँ।

फलामको साङ्लो देखिन्छ, मनको साङ्लो देखिँदैन। तर त्यसको प्रभाव अझ गहिरो हुन सक्छ। त्यसैले स्वतन्त्रताको कठिन यात्रा देशको सीमाभन्दा बाहिर होइन, आफ्नै मनभित्रबाट सुरु हुन्छ।

भारतको स्वतन्त्रता आन्दोलन एउटा शासन हटाउने संघर्ष थिएन। त्यो आत्मसम्मान, अधिकार, स्वाभिमान र आफ्नो अस्तित्वका लागि गरिएको लामो संघर्ष थियो।

महात्मा गान्धीले रामराज्यको कल्पना गरेका थिए। उनले कल्पना गरेको रामराज्यलाई राजनीतिक व्यवस्थाका रूपमा बुझ्नु पनि पर्याप्त हुँदैन। त्यसको आधार सत्य, अहिंसा, न्याय, प्रेम, पवित्रता र सद्भावजस्ता मानवीय मूल्यमा थियो। 

कमजोरले न्याय पाओस्, मानिसले मानिसलाई सम्मान गरोस् र शासनमा नैतिकताको स्थान रहोस् भन्ने भावना त्यसको केन्द्रमा थियो।

तर यस्तो समाज कहाँबाट बन्छ? कानुन बनाएर मात्र? सरकार बदलेर? सत्ता परिवर्तन गरेर?

यी सबै आवश्यक हुन सक्छन्, तर यतिले मात्र समाज बदलिँदैन। समाज मानिसबाट बनेको हुन्छ। मानिसको सोच र चरित्र परिवर्तन नभएसम्म समाजको स्वरूप पनि पूर्ण रूपमा परिवर्तन हुँदैन। त्यसैले रामराज्यको सुरुवात संसद् वा सरकारबाट मात्र होइन, मानिसको अन्तर्मनबाट पनि हुनुपर्छ।

आफ्नै मनमा शान्ति छैन भने बाहिर शान्त समाज कसरी बनाउने? आफ्नो व्यवहारमा सम्मान छैन भने अरूबाट सम्मान कसरी खोज्ने? आफूभित्र सत्यनिष्ठा छैन भने समाजमा नैतिकताको अपेक्षा कसरी गर्ने? सायद यहीँबाट रामराज्यको वास्तविक यात्रा सुरु हुन्छ।

हामी सबैलाई संसार सुधार्न मन लाग्छ। परिवार यस्तो होस्, समाज यस्तो होस्, नेता यस्तो होस् र व्यवस्था यस्तो होस् भन्ने अपेक्षा हुन्छ। तर सबैभन्दा कठिन प्रश्न अरूलाई होइन, आफैँलाई सोध्नुपर्छ

म आफैँ कति बदलिएको छु?

घरमा शान्ति चाहने म आफैँ कति शान्त छु?

अरूबाट सम्मान खोज्ने म अरूलाई कति सम्मान गर्छु?

सत्यको अपेक्षा गर्ने म आफैँ कति सत्यनिष्ठ छु?

समाजमा भ्रष्टाचार नहोस् भन्ने म आफ्ना साना स्वार्थमा कति इमानदार छु?

देशमा रामराज्य चाहने हामीले आफ्नो घर र आफ्नो व्यवहारमा कति रामराज्य ल्याएका छौँ?

यी प्रश्नको इमानदार उत्तर खोज्नु पनि १५ अगस्त मनाउने एउटा अर्थपूर्ण तरिका हुन सक्छ।

राजयोगले मानिसलाई बाहिरी पहिचानभन्दा माथि उठेर आफूलाई शान्त र ज्योतिर्मय आत्माका रूपमा सम्झन प्रेरित गर्छ। आत्मचेतनाको यात्रा यहीँबाट सुरु हुन्छ।

जब हामी आफूलाई पद, प्रतिष्ठा, पैसा वा सामाजिक पहिचानसँग जोड्छौँ, अरूले हामीलाई कसरी हेरे भन्ने कुराले हाम्रो मन प्रभावित हुन्छ। प्रशंसा पाउँदा खुसी र आलोचना हुँदा दुःखी हुन्छौँ। सम्मान पाए आफूलाई ठूलो ठान्छौँ, बेवास्ता पाए अशान्त हुन्छौँ।

तर आत्मचेतना बढ्दै जाँदा ध्यान बाहिरबाट भित्रतिर फर्किन थाल्छ।

म कस्तो व्यक्ति बन्दैछु?

मेरो सोच कस्तो छ?

मेरो व्यवहारले अरूलाई शान्ति दिन्छ कि तनाव?

मेरो उपस्थितिले सम्बन्ध जोड्छ कि तोड्छ?

परमात्मा शिवबाबाको स्मृतिमा रहेर बुद्धियोग जोड्ने अभ्यासले पनि मानिसलाई यही आत्मिक शक्तितर्फ फर्किन प्रेरित गर्छ। राजयोग संसारबाट भाग्ने बाटो होइन। संसारमै रहेर आफ्नो मनमाथि शासन गर्न सिक्ने अभ्यास हो।

क्रोध आएको बेला आफूलाई रोक्न सक्नु स्वराज्य हो।

अहंकार बढ्न खोज्दा आफूलाई सम्झाउन सक्नु स्वराज्य हो।

लोभ र मोहले तान्दा विवेकपूर्ण निर्णय गर्न सक्नु स्वराज्य हो।

विपरीत परिस्थितिमा पनि भित्री शान्ति जोगाउन सक्नु स्वराज्य हो।

अरूलाई नियन्त्रण गर्नुभन्दा पहिले आफूलाई नियन्त्रण गर्न सक्नु नै साँचो स्वराज्य हो।

अनि स्वतन्त्रता,स्वतन्त्रतालाई हामी प्रायः अधिकारसँग जोड्छौँ। तर यसको अर्को पक्ष जिम्मेवारी पनि हो।

क्रोध आयो भन्दैमा क्रोधअनुसार व्यवहार गर्नु स्वतन्त्रता होइन। क्रोध आएको अवस्थामा पनि आफूलाई सम्हालेर सही निर्णय गर्न सक्नु स्वतन्त्रता हो।

नकारात्मक विचार आयो भन्दैमा त्यसैअनुसार चल्नु स्वतन्त्रता होइन। विचारलाई चिन्नु र त्यसबाट माथि उठ्न सक्नु वास्तविक स्वतन्त्रता हो।

बाटोमा कसैले गाडी काट्दा हामी रिसाउँछौँ। सामाजिक सञ्जालमा कसैले आलोचना गर्दा घण्टौँ त्यसको जवाफ सोचिरहन्छौँ। अरूले प्रशंसा पाउँदा ईर्ष्या जाग्छ। कसैले हाम्रो कामको श्रेय लिँदा बदलाको भावना आउँछ।

घटना सानो हुन सक्छ। तर त्यही क्षणमा हाम्रो आत्मिक स्वतन्त्रताको परीक्षा भइरहेको हुन्छ।

म परिस्थितिलाई चलाइरहेको छु कि परिस्थितिले मेरो मन चलाइरहेको छ?

वास्तविक स्वराज्यको प्रश्न सायद यही हो। 

आज संसार निकै अत्याधुनिक छ । मोबाइलको एउटा क्लिकले संसारको अर्को कुनामा रहेको मानिससँग कुरा गर्न सकिन्छ। जानकारी र मनोरञ्जनका साधनको कमी छैन। प्रविधिले जीवनलाई धेरै सहज बनाएको छ।

तर एउटा विरोधाभास पनि देखिन्छ

संसारसँग जोडिन सजिलो भएको छ, तर आफ्नै मनसँग जोडिन गाह्रो हुँदै गएको छ।

बोल्ने माध्यम धेरै छन्, तर एकअर्कालाई सुन्ने धैर्य कम हुँदै गएको छ।

जानकारी धेरै छ, तर आत्मचिन्तनका लागि समय कम छ।

मन बहलाउने साधन धेरै छन्, तर मनको शान्ति अझै खोजिरहनुपरेको छ।

बाहिरी सुविधा बढ्दै जाँदा अपेक्षा पनि बढ्छ। अपेक्षा बढेपछि असन्तोष र तनाव बढ्न सक्छ। त्यसैले बाहिरी विकाससँगै भित्री विकास पनि आवश्यक छ।

प्रविधिले हाम्रो हातलाई शक्तिशाली बनाएको छ। अब चेतनाले पनि हाम्रो मनलाई बलियो बनाउन सिक्नुपर्छ।

ठूलो परिवर्तनका लागि सधैँ ठूलो पद, भाषण वा अभियान आवश्यक हुँदैन। कहिलेकाहीँ परिवर्तन एउटा सानो निर्णयबाट सुरु हुन्छ।

घरमा कसैले रिसाएर बोल्दा हामी पनि रिसाउनुको सट्टा केही क्षण मौन बस्छौँ। कसैले गल्ती गर्दा तुरुन्त दोष लगाउनुको सट्टा उसको कुरा सुन्छौँ। आफ्नो गल्ती हुँदा स्वीकार गर्छौँ। अरूले सफलता पाउँदा मन खोलेर खुसी हुन सिक्छौँ। यस्ता साना निर्णयले नै चरित्र निर्माण गर्छन्।

एउटा शान्त मानिसले परिवारको वातावरण बदल्न सक्छ। शान्त परिवारले समाजमा प्रभाव पार्न सक्छ। सकारात्मक समाजले राष्ट्रको चेतना बलियो बनाउन सक्छ।

ठूलो परिवर्तन कहिलेकाहीँ ठूलो नाराबाट होइन, एउटा व्यक्तिले एउटा क्षणमा गरेको सही छनोटबाट सुरु हुन्छ।

त्यसैले यस १५ अगस्तमा राष्ट्रिय स्वतन्त्रताको उत्सव मनाउँदै गर्दा आफूभित्र पनि एउटा सानो स्वतन्त्रताको अभियान सुरु गरौँ – 

देश स्वतन्त्र भयो। अब आफूलाई पनि आफ्नै विकारबाट स्वतन्त्र बनाउने प्रयास गरौँ।

१५ अगस्तमा राष्ट्रिय झण्डा आकाशमा फहरिँदा मनमा गर्व पैदा हुन्छ। तर झण्डालाई हेर्दै आफैँलाई एउटा प्रश्न सोध्न सकिन्छ, के मेरो जीवनले पनि यो झण्डाको सम्मान गरिरहेको छ?

देशको सम्मान केवल झण्डालाई सलाम गरेर हुँदैन। हाम्रो आचरणले पनि देशको सम्मान बढाउँछ। 

सत्य बोल्नु देशप्रेम हो। 

आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु देशप्रेम हो।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु देशप्रेम हो।

अरूको अधिकारको सम्मान गर्नु देशप्रेम हो।

कमजोरप्रति संवेदनशील हुनु देशप्रेम हो।

आफ्नो स्वार्थभन्दा माथि उठेर समाजका बारेमा सोच्नु पनि देशप्रेम हो।

त्यसैले राष्ट्रिय झण्डा बाहिर फहरिरहँदा हाम्रो अन्तर्मनमा पनि सत्य, शान्ति, प्रेम र पवित्रताको झण्डा फहरियोस्।

१५ अगस्तले एउटा गहिरो सत्य सम्झाउँछ ,बाहिरी स्वतन्त्रता इतिहासले दिएको उपलब्धि हो, तर भित्री स्वतन्त्रता प्रत्येक व्यक्तिले आफैँ प्राप्त गर्नुपर्ने यात्रा हो।

पहिलो स्वतन्त्रता संघर्षबाट आयो। दोस्रो स्वतन्त्रता साधना र आत्मचिन्तनबाट आउँछ। राष्ट्रको सीमा जोगाउन सुरक्षा चाहिन्छ। मनको सीमा जोगाउन आत्मसंयम चाहिन्छ।

देशलाई बाहिरी चुनौतीबाट जोगाउन शक्ति चाहिन्छ। आत्मालाई भित्री विकारबाट जोगाउन चेतना चाहिन्छ। राष्ट्रको एकता जोगाउन सहकार्य चाहिन्छ। आत्मिक स्वतन्त्रता जोगाउन विवेक चाहिन्छ।

यसर्थ, १५ अगस्त ‘देश स्वतन्त्र भएको दिन’ मात्र होइन, ‘म आफैँ कति स्वतन्त्र छु?’ भनेर आफैँलाई हेर्ने दिन पनि बन्न सक्छ।

‘राधे नेपाली मूलकी भारतीय कवियत्री हुन्’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *