संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
बाँके। नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनीस्थित कान्तिताल संरक्षण र नियमित रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ।
नेपालगञ्जको प्रमुख पर्यटकीयस्थलका रूपमा विकास गरिएको ताल क्षेत्रमा झाडी तथा बुट्यान फैलिँदै गएपछि यसको सौन्दर्यसमेत घट्दै गएको छ।
तालको सौन्दर्य बढाउन नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरेको रेलिङसमेत विभिन्न स्थानमा भत्किएका छन्। स्थानीय चक्र बुढाले तालको सुरक्षाका विषयमा सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको बताए।
कान्तिताल विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत रहेकाले यसको संरक्षणका लागि संरक्षणकर्मी तथा वातावरण संरक्षणमा चासो राख्नेहरूले आवाज उठाउँदै आएका छन्। तर, तालको संरक्षण र व्यवस्थापनमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिँदा समस्या बढ्दै गएको स्थानीयको भनाइ छ।
नेपालगञ्ज उपमहानगरपालिकाले कान्तिताललाई संरक्षण गरी पर्यटकीयस्थलका रूपमा विकास गर्न रु १० करोड खर्च गरेको थियो। ठूलो लगानीमा निर्माण गरिएको ताल क्षेत्र अहिले नियमित सरसफाइ र रेखदेखको अभावमा कुरुप तथा जीर्ण बन्दै गएको बुढाले बताए।
स्थानीयका अनुसार ताल क्षेत्र लागुऔषध प्रयोगकर्ताको जमघटस्थलसमेत बन्न थालेको छ। रातको समयमा शङ्कास्पद गतिविधि हुने गरेको भन्दै उनीहरूले ताल क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गरी पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो। तर, नियमित संरक्षण र सरसफाइको अभावमा करोडौँ रुपैयाँ लगानी गरिएको आयोजना अपेक्षाअनुसार उपयोग हुन नसकेको स्थानीयको भनाइ छ।
ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख राजस्व उपमहानगरपालिकालाई बुझाउने गरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले रेलिङ लागुऔषध प्रयोगकर्ताले तोडफोड गरेको हुनसक्ने बताए। यस विषयमा वास्तविकता खोजी गरिने उनले उल्लेख गरे।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित बनाउन नयाँ योजना बनाइरहेको बताए।
विगतमा ताल संरक्षणका लागि बनाइएका योजना सफल हुन नसकेकाले सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना तयार गरिने उनले जानकारी दिए।
नयाँ योजना कार्यान्वयनमा ल्याएर कान्तितालको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाइने उनको भनाइ छ।
