कम्युनिष्ट आन्दाेलनकाे पुनर्जागरणका लागि निर्मम समिक्षा आवश्यक : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरू संघर्ष र विद्रोहका मोर्चामा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र आगामी दिशाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले आन्दोलनको ‘निर्मम समीक्षा’ आवश्यक रहेको बताएका छन्। उनले क्रान्तिपूर्व सरकारलाई शक्ति सञ्चय गर्ने आधारका रूपमा लिने कम्युनिष्ट मान्यता व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसकेको स्वीकार गरेका छन्।
सरकारमा पुगेपछि जनसमर्थन र राजनीतिक शक्ति बढ्नुपर्नेमा उल्टै जनमत क्षयीकरण हुँदै जानु कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती बनेको पोखरेलको भनाइ छ।
उनले कम्युनिष्ट नेतृत्वमा सरकार बनेका बेला देशभक्ति, पूर्वाधार विकास तथा सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए पनि त्यसको राजनीतिक लाभ जनमतमा रूपान्तरण हुन नसकेको बताएका छन्।
पोखरेलका अनुसार नेपालको कम्युनिष्ट इतिहासमा २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौमहिने सरकारले मात्र सरकारमा रहँदा जनसमर्थन बढाउन सकेका थिए।
उनले २०८२ सालमा वामपन्थी आन्दोलनले असाधारण धक्का बेहोरेको उल्लेख गर्दै अब पुरानै शैली र कार्यशैलीबाट कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्।
आधारभूत वर्ग र समुदायका जनता किन कम्युनिष्ट पार्टीबाट टाढिँदै गइरहेका छन् भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, नेता तथा कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको हुटहुटी किन कमजोर हुँदै गयो भन्ने प्रश्नको समेत खोजी गर्नुपर्ने उनले बताएका छन्।
पोखरेलले कम्युनिष्ट आन्दोलनको पुनर्जागरणका लागि समस्याबाट भाग्नेभन्दा त्यसको कारण पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘हरेक समस्याका पछाडि कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यसमै निहित हुन्छ । यो मार्क्सवादी मान्यता हो,’ उनले भनेका छन्, ‘तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो।’
उनको पछिल्लो अभिव्यक्तिलाई एमाले महासचिव पोखरेलले आफ्नै पार्टीसहित समग्र नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक कार्यदिशा, कार्यशैली र जनसम्बन्धबारे आत्मसमीक्षाको आवश्यकता औंल्याएको रूपमा हेरिएको छ।
