कांग्रेस बचाउने तीन पुस्ता राष्ट्रिय सम्मेलनमा : नेता दाहाल
काठमाडौं। नेपाली कांग्रेसको इतर पक्षकाे जारी राष्ट्रिय सम्मेलनले पार्टीभित्र आशा, ऊर्जा र संगठनात्मक शक्ति अझै जीवन्त रहेको देखिएकाे नेता सूर्यकुमार दाहाल (एसके)ले बताएका छन् ।
उनका अनुसार, पार्टीको विचार, इतिहास, संघर्ष र लोकतान्त्रिक संस्कार बोकेका तीन पुस्ता राष्ट्रिय सम्मेलनमा उपस्थित छन् ।
मेचीदेखि महाकालीसम्मका सातै प्रदेशका १० हजारभन्दा बढी नेता, कार्यकर्ता तथा शुभेच्छुकको उल्लेखनीय सहभागिताले राष्ट्रिय सम्मेलनलाई विशेष अर्थ दिएको उनकाे दाबी छ ।
`यो उपस्थितिलाई कुनै व्यक्ति वा समूहको समर्थनका रूपमा बुझ्नु हुँदैन´, उनले भने, `यो कांग्रेसको विचार, संगठन, लोकतान्त्रिक संस्कार र भविष्यप्रतिको विश्वासको अभिव्यक्ति हो।´
कुनै व्यक्ति, समूह वा गुटको मात्र पार्टी कांग्रेस नभई लाखौँ कार्यकर्ताको त्याग, संघर्ष र लोकतन्त्रप्रतिको विश्वासबाट निर्माण भएको साझा राजनीतिक आन्दोलन भन्दै उनले कांग्रेस बचाउने जिम्मेवारी पनि कुनै एक नेता वा पुस्ताको मात्र हुन नसक्ने बताए ।
उनले थप भने `पुरानो पुस्तासँग अनुभव छ, मध्य पुस्तासँग संगठनात्मक क्षमता छ र नयाँ पुस्तासँग ऊर्जा र नयाँ सोच छ। यी तीनै पुस्तालाई जोड्न सकियो भने कांग्रेसलाई अझ बलियो र जनताको भरोसाको पार्टी बनाउन सकिन्छ ।´
उनले पार्टीभित्र फरक विचार हुनु लोकतन्त्रको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै फरक विचारकै नाममा विभाजन र गुटगत स्वार्थलाई प्राथमिकता दिन नहुने बताए।
