`

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ?’

Nepal One HD ३१ साउन २०८३ १५:४८
बिशेष

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनविपरीत हुने गतिविधि स्वीकार्य नहुने बताएका छन्।

उनले नेतृत्व परिवर्तनका लागि सामाजिक सञ्जालमा अभियान चलाउने वा हस्ताक्षर संकलन गर्ने शैलीप्रति असन्तुष्टि जनाएका छन्।

झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी गतिविधि भइरहेकोतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन्।

सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान सञ्चालन गरेर पार्टी अध्यक्ष हटाउने प्रयास गर्नु संगठनात्मक विधि नभएको ओलीको भनाइ थियो।

उनले भने, ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन।’

ओलीले आफूलाई अध्यक्ष पदबाट हटाउनुपर्ने धारणा कसैको भए पार्टीको औपचारिक कमिटीमा विषय राख्न सकिने बताए। पार्टीभित्र असहमति भए त्यसलाई संस्थागत प्रक्रियामार्फत छलफल र निर्णयमा लैजानुपर्ने उनको भनाइ थियो।

उनले नेतृत्वप्रति असन्तुष्टि भए सामाजिक सञ्जाल वा अनौपचारिक अभियान सञ्चालन गर्नुको सट्टा सम्बन्धित पार्टी कमिटीमा आफ्नो धारणा राख्न नेताकार्यकर्तालाई सुझाव दिए।

ओलीको अभिव्यक्ति एमालेभित्र नेतृत्व र संगठन सञ्चालनको विषयलाई लिएर विभिन्न तहमा बहस भइरहेका बेला आएको हो। उनले पार्टीलाई विधि, अनुशासन र संस्थागत प्रक्रियाअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *