पूर्वी नेपालबाट ओलीले दिएका सन्देश
काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका असन्तुष्ट नेताहरूमाथि कडा असन्तुष्टि जनाएका छन्। पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने चर्चा गर्ने, सामाजिक सञ्जालमा लेख्ने र हस्ताक्षर अभियान चलाउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै ओलीले पार्टीमा अनुशासनको सीमा नाघ्न नहुने बताएका छन्।
ओलीको पछिल्लो अभिव्यक्तिमा पार्टीभित्रको आन्तरिक विवाद, नेतृत्वप्रतिको असन्तुष्टि, चुनावी पराजय, पुस्तान्तरण र पार्टी पुनर्गठनको बहस एकैपटक सतहमा आएको देखिन्छ। इलाममा जनजाती महासंघको कार्यक्रममा आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई आवारा, किर्ना भन्ने जस्ता शब्दले कटाक्ष गरेपछि पार्टी पुनगठनको बहस राजधानीमा झन् तिव्र बनिरहेको छ।
पार्टीका तल्लो तहका नेताहरुले यस्ता गतिविधि गर्न थालेपछि ओलीले इलामबाटै पार्टी पुनगठन नहुने स्पष्ट सन्देश दिएका छन्। त्यसक्रममा उनले अध्यक्ष हटाउने विषय सामाजिक सञ्जाल वा चिया-गफबाट टुंगो नलाग्ने भन्दै पार्टीको विधि र विधानअनुसार मात्रै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्न सक्ने स्पष्ट पारे।
‘अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ?’ भन्दै ओलीले असन्तुष्ट समूहप्रति प्रश्न गरेका छन्। उनका अनुसार नेतृत्वप्रति असहमति राख्न पाइन्छ, आलोचना गर्न पनि पाइन्छ, तर पार्टीकै सदस्य भएर सार्वजनिक रूपमा पार्टीलाई कमजोर बनाउने गतिविधि स्वीकार्य हुँदैन।
ओलीले पार्टीमा बस्ने हो भने अनुशासन पालना गर्नुपर्ने र असन्तुष्टि भए सम्बन्धित कमिटीमा छलफल गर्नुपर्ने बताए। सामाजिक सञ्जालमा जथाभावी लेख्ने वा बाहिर हस्ताक्षर अभियान चलाउने शैलीले पार्टीभित्रको समस्या समाधान नगर्ने उनको भनाइ छ।
‘क्यान्टिनको चिया-गफबाट अध्यक्ष हट्दैन’
एमालेभित्र केही नेताले नेतृत्व परिवर्तन र पुनर्गठनको माग उठाइरहेका बेला ओलीले क्यान्टिनको चिया-गफलाई राजनीतिक निर्णयको आधार बनाउन नसकिने बताएका छन्। उनले पार्टीमा लामो समयदेखि योगदान दिएका तर पद नपाउँदा पनि गुनासो नगरेका कार्यकर्ताबाट सिक्नुपर्ने धारणा राखे।
‘केही साथीहरूले पद पाइनँ भनेर गुनासो गर्नुभएको छैन। मैले यो पाइनँ भन्दै पार्टी छोड्छु भनेको पनि सुनिएन। सधैँ पार्टीको पक्षमा दृढताका साथ उभिएको मात्रै देखियो,’ ओलीको भनाइ थियो।
उनले आफूहरू पद, सत्ता वा व्यक्तिगत लाभका लागि राजनीतिमा नआएको दाबी गरे। प्रधानमन्त्री, मन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले नभई देश निर्माण र राजनीतिक परिवर्तनका लागि आफूहरू अघि बढेको उनको भनाइ थियो।
‘पाएका असन्तुष्ट छन्, नपाएकाहरू होइन’
ओलीले पार्टीभित्र असन्तुष्टिको प्रकृतिमाथि पनि व्यंग्य गरेका छन्। उनले पर्याप्त अवसर र जिम्मेवारी पाएका व्यक्तिहरू नै बढी असन्तुष्ट देखिएको टिप्पणी गरे।
‘नपाएका मान्छे खास असन्तुष्ट छैनन्। पाएका असन्तुष्ट छन्। खाएका, लगाएका असन्तुष्ट छन्,’ भन्दै उनले असन्तुष्ट नेताहरूलाई ‘किर्ना’सँग तुलना गरे। किर्नाले भैँसीको शरीरबाट पर्याप्त रगत चुसेपछि आफैँ झर्ने उदाहरण दिँदै ओलीले अवसर पाएकाहरूले नै पार्टीभित्र समस्या सिर्जना गरेको संकेत गरे।
‘एमाले कुस्ती हारे पनि अखडा छोड्दैन’
चुनावी पराजयपछि एमालेभित्र नेतृत्व र संगठनको पुनर्संरचनाको बहस चलिरहेका बेला ओलीले पार्टीले चुनाव हार्दैमा मैदान छोडेर भाग्ने अवस्था नरहेको बताए।
उनले एमाले एकपटक पराजित हुँदैमा कमजोर नहुने दाबी गर्दै कुस्तीको उदाहरण प्रस्तुत गरे। ‘कुस्तीमा एकपटक पछारिँदैमा अखडा छोडेर भागिँदैन, जुरुक्क उठेर फेरि सामना गर्नुपर्छ,’ उनको भनाइ थियो।
उनका अनुसार एमाले भगौडा पार्टी नभई परिस्थितिको सामना गर्ने, चुनौतीसँग जुध्ने र निरन्तर अघि बढ्ने पार्टी हो। देशलाई सही बाटोमा अघि बढाउन, शान्ति र लोकतन्त्र कायम गर्न तथा संविधानको रक्षा गर्न एमालेले भूमिका खेल्नुपर्ने ओलीले बताए।
पुनर्गठन होइन, ‘पुनर्जागरण’
ओलीले अहिले एमालेभित्र भइरहेको गतिविधिलाई व्यापक पार्टी पुनर्गठनका रूपमा बुझ्न नहुने पनि बताएका छन्। उनका अनुसार विभिन्न जनसंगठन वा कमिटीको पुनर्गठन भइरहने सामान्य प्रक्रिया हो। तर सम्पूर्ण पार्टीको पुनर्गठन भने अधिवेशन र विधिसम्मत प्रक्रियाबाट मात्रै हुने उनको संकेत छ।
उनले पार्टीलाई अब ‘पुनर्जागरण’को अवस्थामा लैजानुपर्ने बताएका छन्। नयाँ पुस्ता र पुरानो पुस्ताको अनुभवलाई जोडेर पार्टीलाई क्रमशः रुपान्तरण गरिने उनको भनाइ छ।
‘नयाँ, पुरानाको अनुभव मिलाएर पार्टीमा विस्तारै रुपान्तरण हुन्छ। विधिअनुसार हुन्छ, पद्धतिअनुसार हुन्छ। सबैको सल्लाह–सुझावअनुसार पार्टी पुनर्गठन र पुनर्जागरण हुन्छ,’ ओलीले भने।
‘बुढो हुँदैमा लौरो टेक्ने मात्रै होइन’
पार्टीभित्र पुस्तान्तरणको बहसप्रति पनि ओलीले प्रत्यक्ष प्रतिक्रिया दिएका छन्। आफूहरू राजनीतिक आन्दोलनको लामो इतिहास बोकेर वृद्ध भएको उल्लेख गर्दै उनले उमेर बढ्दैमा राजनीतिक भूमिका समाप्त नहुने बताए।
‘मान्छे बुढो होला, लौरो टेक्ला। तर बुढो भएर मात्रै लौरो टेकिँदैन। हामी आन्दोलनको इतिहास बोक्दा बोक्दा बुढो भएका हौँ,’ उनले भने।
एमालेमा नयाँ र पुराना दुवै पुस्ताका नेता-कार्यकर्ता रहेको उल्लेख गर्दै उनले अनुभव र नयाँ ऊर्जालाई संयोजन गरेर पार्टी अघि बढाउनुपर्ने धारणा राखे।
सुरक्षा जाँचप्रतिकाे आक्राेश
ओलीले आफ्ना भ्रमणका क्रममा हुने सुरक्षा जाँचप्रति पनि व्यंग्य गरेका छन्। विमानस्थल तथा अन्य स्थानमा मेटल डिटेक्टरबाट पटक–पटक जाँच गरिनुलाई लिएर उनले आफूबाट के खोजिएको हो भन्दै प्रश्न गरे।
‘म न गँजडी, न जड्याहा, न ड्रगिस्ट। के खोज्या हो ?’ भन्दै ओलीले सुरक्षा जाँचको शैलीप्रति असन्तुष्टि जनाए। उनले देशको सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्नुपर्नेमा आफूजस्तो व्यक्तिको शरीरमा पटक-पटक मेटल डिटेक्टर लगाउनेतर्फ मात्र ध्यान गएको भन्दै कटाक्ष गरे।
सरकार र सुनसरी घटनाका सन्दर्भमा
ओलीले पछिल्लो समय भएका केही घटनालाई लिएर सरकार र राजनीतिक प्रतिद्वन्द्वीप्रति पनि आलोचनात्मक टिप्पणी गरेका छन्। सुनसरीलगायतका स्थानमा भएको तनावलाई राजनीतिक रूपमा भड्काउने प्रयास भएको उनको आरोप थियो।
उनले आफ्ना कार्यकर्तालाई पार्टीलाई कमजोर पार्ने गतिविधिबाट टाढा रहन आग्रह गर्दै विपक्षीको प्रहारको सामना गर्न एमाले एकताबद्ध हुनुपर्ने बताए।
ओलीका पछिल्ला अभिव्यक्तिले एमालेभित्र नेतृत्व, अनुशासन र पुनर्गठनको बहस तत्कालै अन्त्य हुने संकेत भने गरेको छैन। बरु उनले नेतृत्व परिवर्तनका लागि पार्टीको विधि र विधानलाई आधार बनाउनुपर्ने स्पष्ट सन्देश दिएका छन्।
एकातिर ओलीले असन्तुष्ट समूहलाई अनुशासनमा बस्न चेतावनी दिएका छन् भने अर्कोतिर पार्टीका कमजोरी सच्याउनुपर्ने आवश्यकता पनि स्वीकार गरेका छन्। ‘सबै बौरिनु जरुरी छ, गलत क्रियाकलापको प्रतिवाद गर्न जरुरी छ’ भन्दै उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउने संकेत गरेका छन्।
