जनतालाई सिटामोल छैन, मन्त्रीलाई हेलिकप्टर?
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राज्यको सेवा र स्रोत वितरणमा देखिएको असमानताप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा उनले दुर्गम क्षेत्रका नागरिकले सामान्य औषधि र उपचारसमेत नपाउने अवस्था रहेको तर मन्त्री बिरामी हुँदा ठूलो रकम खर्च गरेर हेलिकप्टरबाट काठमाडौं ल्याउने गरिएको भन्दै प्रश्न उठाइन्।
थापाका अनुसार जनताले आधारभूत स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा मन्त्रीको उपचार तथा उद्धारमा लाखौँ रुपैयाँ खर्च गर्ने प्रवृत्तिले राज्यको प्राथमिकतामाथि प्रश्न खडा गरेको छ।
उनले कर्णालीका नागरिकले सिटामोलसमेत सहज रूपमा नपाउने, गर्भवती तथा सुत्केरीले समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने र विपन्न परिवारले दैनिक गुजारा चलाउनसमेत कठिनाइ भोगिरहेको बताइन्।
सरकारले मन्त्रीको उद्धारमा ठूलो रकम खर्च गर्न सक्ने भए नागरिकका लागि सामान्य राहत र उपचारको व्यवस्था गर्न किन नसकेको भन्दै उनले प्रश्न गरिन्।
थापाले राज्यका लागि मन्त्री र सर्वसाधारण दुवैको जीवन समान मूल्यवान् हुनुपर्ने बताइन्। दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुर्याउन कठिन हुने तर मन्त्रीका लागि तत्काल हेलिकप्टर उपलब्ध हुने अवस्थाले राज्यको समान व्यवहारको अवधारणामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
उनले ठूला पूर्वाधार आयोजनाको चर्चा गर्नुभन्दा पहिले दुर्गम क्षेत्रमा औषधि, उपचार र अत्यावश्यक सेवा पुर्याउन सरकार केन्द्रित हुनुपर्ने बताइन्।
कर्णालीमा आधारभूत स्वास्थ्य सेवा र औषधिको अभाव कायमै रहेको भन्दै थापाले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई सरकारको पहिलो प्राथमिकतामा राख्न आग्रह गरिन्।
