संसदमा आज : सांसदको घेराउमा सरकार, उठे रोजगारीदेखि ठगीसम्मका विषय
काठमाडौं। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा देखिएका समस्या, सरकारी स्वास्थ्य सेवाको अवस्था, अनलाइन ठगी, विपद् व्यवस्थापन तथा स्थानीय पूर्वाधारलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै सांसद बलावती शर्माले वैदेशिक रोजगारीमा जाने नेपालीले भोगिरहेका समस्या गम्भीर बन्दै गएको बताइन्। विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी ठूलो संख्यामा उजुरी थन्किएको बताइन्।
उनले वैदेशिक रोजगारीसँग सम्बन्धित कानुन परिमार्जन गर्नुपर्ने तथा ठगीका घटनाको अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउन प्रहरी तथा जिल्ला प्रशासनलाई समेत आवश्यक अधिकार दिनुपर्ने धारणा राखिन्। साथै, सीप र दक्षताका आधारमा मात्र श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।
सरकारी स्वास्थ्य संस्थाको अवस्थाप्रति सांसद वसुमाया तामाङले असन्तुष्टि जनाइन्। सरकारी अस्पतालमा बिरामीले सहज रूपमा उपचार पाउन नसकेको, कतिपय अवस्थामा भुइँमै बसेर उपचार गराउनुपर्ने र पहुँचका आधारमा सेवा प्राप्त हुने अवस्था रहेको उनले बताइन्।
गरिब तथा विपन्न नागरिकले अस्पतालमा अपमानजनक व्यवहार भोग्नुपर्ने अवस्था अन्त्य गरी स्वास्थ्य संस्थाको व्यवस्थापन र सेवा प्रवाह सुधार गर्न उनले सरकारसँग माग गरिन्।
सांसद वासना थापाले कर्णालीका नागरिकले सामान्य औषधि तथा राहतसमेत नपाइरहेको अवस्थामा मन्त्रीहरूको उपचार र भ्रमणमा राज्यको ठूलो रकम खर्च भइरहेको भन्दै प्रश्न उठाइन्। राज्यका लागि मन्त्री र सर्वसाधारणको जीवन समान रूपमा महत्वपूर्ण हुनुपर्ने उनको भनाइ थियो।
यस्तै, सांसद बिना गुरुङले अनलाइन ठगी बढ्दै गएको विषय सदनमा उठाइन्। सामाजिक सञ्जालबाट सामान खरिद गर्ने क्रममा पैसा लिएपछि सम्पर्कविहीन हुने अनलाइन व्यवसायलाई प्रभावकारी रूपमा नियमन गर्नुपर्ने उनले बताइन्। यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिन्।
विपद् व्यवस्थापनसम्बन्धी विषयमा सांसद बुद्धरत्न महर्जनले विपद्का बेला तत्काल परिचालन गर्न सकिने बजेट र संयन्त्र तयार राख्नुपर्ने बताए। उनले विपद् आएपछि मात्र स्रोत व्यवस्थापन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
सांसद बुद्धिप्रसाद पन्तले स्थानीय तहमा अझै पनि आधारभूत पूर्वाधारको अभाव रहेको बताए। सडकको अवस्था, विद्यालयमा पर्याप्त डेस्क–बेन्च तथा पंखा नहुँदा नागरिक र विद्यार्थीले समस्या भोगिरहेको उनले उल्लेख गरे।
अछामको स्वास्थ्य अवस्थाबारे सांसद भरतकुमार स्वाँरले दुर्गम क्षेत्रका नागरिकका लागि स्वास्थ्य सेवा सहज बनाउनुपर्ने बताए। उनले बयलपाटा अस्पतालको प्रभावकारिता बढाउन र दुर्गम बस्तीमा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद भरतबहादुर खड्काले दिपायल सिलगढीमा निर्माणाधीन ५० शय्याको सरुवा रोग अस्पतालको विषय उठाउँदै त्यसको निर्माण तथा सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताए।
यसैबीच सांसद भरतप्रसाद पराजुलीले सरकारका सकारात्मक कामलाई पनि स्वीकार गर्दै रचनात्मक आलोचनाको संस्कार विकास गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री तथा मन्त्रीहरू विकास निर्माणको अनुगमनका लागि फिल्डमा खटिरहेका बेला आलोचना मात्र गर्नुको सट्टा आवश्यक सुझाव र सहयोगमार्फत सुधारमा योगदान दिनुपर्ने उनको भनाइ थियो।
