हाट सिंजामा पुग्यो फोर-जी
काठमाडौं । नेपाली भाषा तथा खस भाषाको उद्गमस्थलका रूपमा चिनिने जुम्लाको हाट सिंजामा नेपाल टेलिकमले फोर-जी सेवा सञ्चालनमा ल्याएको छ।
कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरेर शुक्रबारदेखि फोर-जी सेवा सुरु गरिएको नेपाल टेलिकम जुम्लाले जनाएको छ।
नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा सेवा पुग्नेछ। गौरी, ओखरवाडा, हाट सिंजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गाललगायत क्षेत्रमा फोर-जी सेवा उपलब्ध हुनेछ।
टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको टेलिकमले जनाएको छ। तत्कालका लागि सोलार ब्याट्रीमार्फत टावर सञ्चालनमा ल्याइएको हो।
दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा पनि फोर-जी सेवा विस्तारको तयारी भइरहेको छ। त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ।
यसअघि डोल्पाको ल्हान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलालगायत उच्च हिमाली क्षेत्रमा समेत फोर-जी सेवा विस्तार भइसकेको छ।
दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्ने योजनाअन्तर्गत देशभर करिब एक हजार ६ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ।
ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।
