`

सरकार पाँच वर्ष टिक्दैन : ओली

Nepal One HD ६ भदौ २०८३ १४:४७
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्। नगरकोटमा भएको जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजकताबाट आएकाहरूलाई देशको जिम्मा लगाउन नसकिने बताए।

उनले लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको दाबी गर्दै अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुपर्ने बताए।

उनले भने, ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ। अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ। हरेकको मनमा त्रास छ। एउटा स्टाटस लेख्नुस् त, कति गाली आउँछ, त्रास छ। सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन। हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’

दरबार हटाएर गणतन्त्र ल्याएका शक्ति भएकाले आफूहरू कसैसँग नडराउने उनले बताए।

उनले थपे, ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ, मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौँ। डराउनुहुन्न। यो सरकार, तपाईंहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन। हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र?’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट हालेर बहुमत दिएकोमा जनताले पश्चात्ताप गरिसकेको दाबी गरे। सरकारविरुद्ध जनता आफैँ आन्दोलित हुनुपर्ने भन्दै उनले पार्टीपंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *