१५० दिनमै हिरोबाट भिलेन बन्दै बालेन
काठमाडौं। चुनावअघि र चुनावका बेला प्रधानमन्त्री ‘बालेन’ जनतामाझ हिरो थिए। देशभित्र मात्र होइन, देशबाहिरसमेत उनको चर्चा थियो। तर प्रधानमन्त्री भएको १५० दिन अर्थात् पाँच महिनामै उनको हिरो छवि कायम रहेन।
उनी राजनीतिमा भिलेनजस्तै भएका छन्। उमेरका हिसाबले विश्वभरका बहालवाला प्रधानमन्त्रीमध्ये सबैभन्दा कलिला प्रधानमन्त्री हुन्।
जतिबेला उनी प्रधानमन्त्री बने, उनीप्रति जनताको अपेक्षा ठूलो थियो। अब शासन बदलिन्छ। राजनीति बदलिन्छ। राज्य सञ्चालनको शैली बदलिन्छ। देश निर्माण नयाँ पुस्ताका बालेनले गर्छन्। यही आशाले उनलाई नसोचेको राजनीतिक उचाइमा जनताले पुर्यायो।
तर प्रधानमन्त्री बनेको पाँच महिना पनि नपुग्दै उनी चौतर्फी आलोचनाको केन्द्रमा छन्। उनलाई भोट दिने झापाली जनता रिसाएका छन्। हुन पनि चुनाव जितेपछि झापामा एकपटक टेकेका छैनन्। झापालीको समस्या समाधान गर्नेबारे एक शब्द बोल्दैनन्। अर्थात् प्रधानमन्त्री बनाउन जिताउने मतदातालाई बालेनले फर्केर हेरेका छैनन्।
यसबीचमा कतिले त उनलाई आवारा प्रधानमन्त्री भन्न थालेका छन्। कतिपयले उनीमाथि अनेक लान्छना लगाउन थालेका छन्। अर्थात् हिजो जसरी हिरो नेताको छवि थियो, आज धुमिल भयो। क्रमशः भिलेन बन्दैछन्। यसको मूल कारण शासनसत्तामा उनको निरङ्कुश शैली हो।
जबकि काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनको सबैभन्दा ठूलो शक्ति उनको टकरावपूर्ण शैली थियो। केन्द्र सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीलाई थेत्तरो गाली गर्थे। मानिसहरू बालेनको बोलीलाई देवताको बोली ठान्थे।
खोला तथा सडक किनारका अनधिकृत संरचना हटाउनेदेखि फुटपाथ व्यवस्थापनसम्म उनले ‘म गर्छु र गरेरै छाड्छु’ भन्दा जनताले मन पराए।
तर महानगर र संघीय सरकार एउटै शैलीमा चल्दैनन्।
प्रधानमन्त्री बालेनले आफ्नो इच्छाअनुसार मात्र राज्य चलाउन सक्दैनन्। संसद् चाहिन्छ। राजनीतिक दलसँग संवाद चाहिन्छ। कर्मचारीतन्त्रसँग समन्वय चाहिन्छ।
प्रदेश र स्थानीय तहसँग सहकार्य गर्नुपर्छ। सुरक्षा निकायसँग संस्थागत सम्बन्ध कायम गर्नुपर्छ। अन्तर्राष्ट्रिय सम्बन्धमा धैर्य र कूटनीतिक सन्तुलन चाहिन्छ।
यी सबैमा प्रधानमन्त्री बालेन चुकेको देखियो। उनको कूटनीतिक व्यवहार पनि विवादमुक्त रहन सकेन।
कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता राष्ट्रिय मुद्दामा दृढ अडान लिन सकेनन्। उल्टै भारतीय भूमि नेपालले मिचेको भनेर संसारभर नेपाललाई सीमा मिचुवा देशका रूपमा चिनाउन खोजे। तर नेपालले भारतको भूमि कहाँ-कहाँ मिच्यो? कहिले मिच्यो र कति मिच्यो? बालेनले जवाफ दिएका छैनन्।
संसद्मा विपक्षी दलहरूले जवाफ मागेका छन्। यसबाहेक भारतसँगको सम्बन्धमा बालेनले अपरिपक्व कूटनीतिक व्यवहार देखाए।
उसो त विदेशी कूटनीतिज्ञसँगको भेटघाटमा अपनाइएको सुरुवाती कठोरता पनि स्टन्ट मात्रै भयो। पछि भारतीय र चिनियाँ राजदूतसँग भेटघाट गर्नुपर्ने अवस्था आयो।
त्यसबीच रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणमा रेड कार्पेट पाएपछि प्रधानमन्त्री बालेन झस्किए। जतिबेला बालेन भारतसँग उनको दूरको सम्बन्ध स्थापित गर्न चाहन्थे। त्यही भएर उनले भारतीय विदेश सचिवसँग एक्लै भेट्न अस्वीकार गरे।
यति मात्रै होइन, भारतीय सेनामा गोर्खा भर्तीको विषय टुंगो लगाउन सकेनन्। नेपाली युवाको भारतीय सेनामा भर्ती रोकिएको लामो समय भइसक्यो। भारतसँग कूटनीतिक संवाद गर्नुपर्थ्यो। उनी यहाँ पनि चुके।
यससँगै ‘जनताको नेता’ होइन, सिंहदरबारको कालो कोठामा बस्ने नेताको छवि बनेको छ।
यसबाहेक उनी आफैं काठमाडौं महानगरको मेयर हुँदा दमन गर्ने बानी परेका नगर प्रहरीसँगको विवादमा राइड सेयर चालक गणेश नेपालीले गरेको आत्मदाहको घटना, त्यसपछि एकपछि शृङ्खलाबद्ध रूपमा बालेन सरकारप्रति निराशा प्रकट गर्दै भएको आत्मदाह, सुकुम्बासीलाई डोजर चलाएर उठिबास लगाएको र पीडा सहन नसकेर ११ जना सुकुम्बासीले आत्महत्या गरेको घटनाले बालेन सरकार आलोचित बन्यो।
जबकि हिजो जनताको आवाज बनेर लोकप्रिय भएका बालेन आज सडकबाटै उठ्ने असन्तुष्टिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्।
गत साउन दोस्रो साता भएको धार्मिक तनावका घटनाले पनि उनको सरकारको विरोध भयो। सुनसरीको कप्तानगंज र सिरहाको गोलबजारमा गरी चार जना युवाको ज्यान जानेगरी घटना हुँदा पनि सिंहदरबारबाट चुपचाप रमित हेरेर बसे।
संकटको बेला उनी देखिएनन्। यसबाहेक उनीप्रति सबैभन्दा गम्भीर प्रश्न संसद्सँगको सम्बन्धलाई लिएर उठेको छ।
प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदले गर्ने प्रश्नको जवाफ दिनुपर्छ। संसद् सरकारको विरोधी संस्था होइन। संसद् जनताको प्रतिनिधिमूलक संस्था हो। तर प्रधानमन्त्री बालेनले संसद् सरकारको विरोधी संस्थाजसरी व्यवहार गरेका छन्।
त्यसैगरी आफ्नै पार्टीसँगको सम्बन्धमा दूरी बढेको चर्चा पनि बालेनका लागि सुखद संकेत होइन। पार्टीका बैठकमा न्यून उपस्थिति, नेतृत्वसँगको सम्बन्धमा चिसोपना र पार्टीभित्रै फरक शक्ति केन्द्र निर्माण हुँदै गएको चर्चा हुनुले उनको राजनीतिक आधार कमजोर हुन सक्ने संकेत गर्छ।
प्रधानमन्त्रीको शक्ति पदमा मात्रै हुँदैन। राजनीतिक शक्ति पार्टी, संसद्, सरकार र जनताबीचको सम्बन्धबाट निर्माण हुन्छ।
त्यसैले बालेनको समस्या १५० दिनको होइन। समस्या उनको शासनशैलीको हो।
उनलाई हिरो बनाउने मुख्य कारण पुरानो राजनीतिको विरोध थियो। तर देश चलाउन विरोध पर्याप्त हुँदैन। सहकार्य चाहिन्छ। संवाद चाहिन्छ। संस्थागत निर्णय चाहिन्छ। कूटनीतिक परिपक्वता चाहिन्छ। जवाफदेहिता चाहिन्छ।
बालेनले यही परिवर्तन गर्न नसके जनताले दिएको असाधारण विश्वास नै उनका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ।
हिजो उनलाई हिरो बनाउने जनता नै आज प्रश्न गर्ने तहमा पुगेका छन्– हामीले परिवर्तन खोजेका थियौँ, टकराव होइन। हामीले परिणाम खोजेका थियौँ, मौनता होइन। हामीले नयाँ शासन खोजेका थियौँ, नयाँ शैलीको पुरानै सत्ता होइन। हामीले नेपाल समृद्ध बनेको खोजेका थियौँ। गरिब खेदाउने होइन।
उसो त प्रधानमन्त्री बालेनसँग अझै समय छ। १५० दिनमै उनको राजनीतिक भविष्यको अन्तिम फैसला गर्नु हतार हुनेछ। तर यो अवधि पर्याप्त छ– दिशा सही छ कि छैन भन्ने देखाउन।
चुनाव जितेर प्रधानमन्त्री बन्नु राजनीतिक विजय हो। तर जनताको विश्वास कायम राखेर राज्य चलाउनु वास्तविक परीक्षा हो। बालेन अहिले त्यही परीक्षाको सबैभन्दा कठिन चरणमा प्रवेश गरेका छन्।
हिजोको हिरो आज भिलेन बन्ने कि फेरि आफूलाई प्रमाणित गर्ने– अब त्यो निर्णय जनताको हातमा होइन, स्वयं बालेनको शासनशैली, निर्णय क्षमता र परिणाममा निर्भर छ।
