रास्वपाको विचार र नेतृत्व क्षमतामाथि एमाले नेता ढुङ्गेलको प्रश्न
काठमाडौं । नेकपा एमालेका नेता माधव ढुङ्गेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट राजनीतिक विचार, दर्शन र नीति सार्वजनिक गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनले बहुदलीय व्यवस्थामा स्वतन्त्र तथा गैरदलीय उम्मेदवारको अवधारणाले राजनीतिक दल र विचारमा आधारित लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताएका हुन् ।
मंगलबार राष्ट्रिय प्रेस क्लबमा आयोजित समसामयिक राजनीतिक विषयसम्बन्धी अन्तक्र्रियामा बोल्दै ढुङ्गेलले स्थानीयदेखि प्रदेश र संघीय तहसम्म हुने निर्वाचनमा राजनीतिक दल, विचार र दृष्टिकोणले प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
‘यो बहुदलीय व्यवस्था हो। यो लोकतन्त्र हो। यहाँ विचारहरूको फुलबारी हुन्छ। अनि दलभित्र बहुदलीय व्यवस्थाभित्र गैरदलीय मान्छे खोज्ने को लोकतन्त्रवादी हो यहाँ ? त्यसले ठूलो लोकतन्त्रको कुरा गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।
ढुङ्गेलले राजनीतिक दलभित्र विचार, दर्शन, बहस र अन्तरक्रिया हुनुपर्ने भन्दै दलले आफ्ना कमजोरी सुधार गर्दै समयअनुकूल विचारलाई परिमार्जन गर्नुपर्ने बताए । उनका अनुसार राजनीतिक दलले नै देश सञ्चालन गर्नु लोकतन्त्रको आधारभूत मान्यता हो ।
मन्त्री बनेपछि दलको नेता भए पनि राज्यको जिम्मेवारी सम्हाल्दा सबै नागरिकको प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
‘म आज दलको मान्छे हुँ। म एउटा पार्टीको मान्छे हुँ। तर मैले मन्त्री भएर मन्त्रीको कुर्सीमा बसेपछि म देशको मान्छे हुँ। मैले त्यो दुईटा क्यारेक्टर देखाउन सक्नुपर्छ,’ उनले भने ।
उनले अहिलेको संसद्मा प्रतिपक्ष कमजोर रहेको भन्ने टिप्पणीप्रति पनि असहमति जनाउँदै संसद्मा रहेको संख्याका आधारमा सत्तापक्षसँग पर्याप्त शक्ति रहेको बताए । अहिलेको संसद्लाई संविधान संशोधनलगायत महत्वपूर्ण निर्णय गर्न सक्ने अवस्था जनताले दिएको उनको भनाइ थियो ।
ढुङ्गेलले पछिल्लो समय युवाको नेतृत्व र अनुभवविहीन व्यक्तिले शासन सञ्चालन गर्न सक्ने भन्ने भाष्यप्रति पनि प्रश्न उठाए । उनले राज्य सञ्चालनका लागि संविधान, कानुन, लोकतान्त्रिक मूल्य र शासनका मर्यादा बुझ्ने अनुभव आवश्यक रहेको बताए ।
‘अनुभव चाहिन्छ है। संविधान जान्नुपर्छ, कानुन जान्नुपर्छ, मर्यादा जान्नुपर्छ, लोकतन्त्र सिक्नुपर्छ, लोकतन्त्रका नम्र्सहरू राम्रोगरी जान्नुपर्छ। त्यो जान्ने मान्छे नै मुलुकको नेतृत्व गर्ने ठाउँमा पुग्नुपर्छ,’ उनले भने ।
उनले काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाउनु मात्र समाधान नभएको टिप्पणी गर्दै विस्थापितहरूको व्यवस्थापनबारे प्रश्न उठाए ।
‘डोजर लाउन त सजिलो छ नि । एउटा डोजरले सारा सबै भताभुङ्ग पार्दिन्छ नि। बनाउन ती बिल्डिङहरू कति गाह्रा थिए थाहा छ नि? ती बिल्डिङको कसरी उपयोग गर्ने, त्यसको पछिल्लो निकास के हो भन्ने कुरा हेक्का राखेर हटाउनु भएको भए त आज सबैको व्यवस्थापन भइसक्थ्यो,’ उनले भने ।
ढुङ्गेलले रास्वपाले आफूलाई कम्युनिस्ट वा वामपन्थी नभएको बताउँदै आए पनि पार्टीको स्पष्ट राजनीतिक दर्शन र विचार के हो भन्ने प्रश्न गरे । उनले रास्वपाभित्र विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूको समूह रहेको टिप्पणी गर्दै त्यसले पार्टीको वैचारिक आधार स्पष्ट नबनाएको दाबी गरे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको विचार के हो ? के हो परराष्ट्र नीति बताइदिनुस् त मलाई ? के हो अर्थनीति ? के हो शिक्षा नीति ? के हो स्वास्थ्य नीति ?’ उनले प्रश्न गरे ।
रास्वपाले पाँच वर्ष स्थिर रूपमा सरकार सञ्चालन गर्न सक्छ भन्ने विश्वास सिर्जना गर्न नसकेसम्म देशभित्र र बाहिरबाट लगानीको वातावरणसमेत प्रभावित हुने उनको दाबी थियो ।
‘विदेशीबाट लगानी किन आउँदैन भने तपाईंको पार्टीले पाँच वर्ष धानेर देश चलाउँछ भन्ने विश्वास न विदेशीलाई छ न देशभित्रका कसैलाई छ,’ ढुङ्गेलले भने ।
यस्तै, कार्यक्रममा रास्वपाका नेता प्रकाशचन्द्र परियारले भने पुराना राजनीतिक दलहरूले नेपाली जनताको विश्वास गुमाइसकेको दाबी गर्दै रास्वपालाई काम गर्ने अवसर दिनुपर्ने बताए ।
उनले जेन–जी विद्रोहपछि पुराना दलप्रति प्रश्न उठिरहेको उल्लेख गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको यात्रामा ती दलहरूले खेलेको भूमिकाप्रति भने सम्मान व्यक्त गरे ।
‘नेपाली जनताले ‘तिमीहरूले काम गरेनौ, नेपाललाई तन्नम गरिबीको रेखामुनि छोड्यौ, भाग शान्ति जय नेपाल, मिलीभगत लालसलाम’ शैलीबाट नेपाललाई लात्तै भकुन्डो खेल्यौ भनेर नेपाली जनताले दण्ड दिइसकेका छन्,’ परियारले भने ।
उनले पुराना दलहरूले विकास र सुशासनमा कमजोरी गरे पनि लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि खेलेको भूमिकाप्रति कृतज्ञ रहेको बताए ।
परियारले पुराना दलहरूले निर्माण गरेको राजनीतिक ‘ट्र्याक’मा रास्वपाको गाडी अघि बढिरहेको टिप्पणी गरे ।
‘ट्र्याक कसले खोल्छ ? डोजरले खोल्छ । खोलिसकेको ट्र्याकमा सधैँ डोजर कुद्यो भने के हुन्छ ? त्यसले काम गर्दैन । परम्परागत दलहरूले खोलेको ट्र्याकमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाडी कुद्छ,’ उनले भने ।
उनले रास्वपा पनि प्रश्नभन्दा बाहिर नरहेको स्वीकार गर्दै पार्टी र सरकारका कामप्रति निरन्तर निगरानी गर्न सञ्चारमाध्यम र नागरिकलाई आग्रह गरे ।
‘हाम्रो कार्यादेश के हो ? माथिबाट फुत्त आएको हो कि भन्ने अहङ्कार आयो भने खबरदारी गर्न नेपाली मिडिया र आलोचनात्मक चेत भएका सम्पूर्ण नागरिकलाई अपिल गर्दछु,’ परियारले भने ।
उनले सरकारमा आएपछि पनि दैनिक ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि देश छाडिरहेको यथार्थ रास्वपाले बुझेको बताए । तत्कालै सबै समस्या समाधान गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि नयाँ सरकारलाई काम गर्ने समय दिनुपर्ने उनको भनाइ थियो ।
परियारले सञ्चारमाध्यमलाई रास्वपाको कामलाई निरन्तर निगरानी गर्नसमेत आग्रह गरे ।‘हामीलाई माइक्रोस्कोपले हेरिदिनुस् नेपाली मिडिया। रचनात्मक खबरदारी गरिदिनुस्। निरन्तर निगरानी गरिदिनुस्,’ उनले भने ।उनले वर्तमान राजनीतिक परिवर्तनलाई ‘अभूतपूर्व मत क्रान्ति’को संज्ञा दिँदै यस्तो अवसर पटक–पटक नआउने बताए ।
