बाढीपीडितका लागि कांग्रेस सांसद गुरुङको एक लाख ११ हजार १११ सहयोग
काठमाडौं। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रधानमन्त्री राहत उद्धार कोषमा एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
गुरुङले मंगलबार प्रधानमन्त्री राहत उद्धार कोषमा उक्त रकम पठाएका हुन् । हालै नुवाकोटको त्रिशूली नदीको बाढीबाट प्रभावित ढुंगेबजार र देवीघाट क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएलगत्तै उनले राहतस्वरूप नगद सहयोग गरेका हुन् ।
स्थलगत अनुगमनका क्रममा बाढीले त्रिशूली तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको देखिएको गुरुङले बताएका छन् । उनले भोटेकोशी र त्रिशूली नदीले पुल बगाउँदा तथा सडक पूर्ण रूपमा क्षतिग्रस्त हुँदा स्थानीयको आवतजावतमा गम्भीर समस्या परेको उल्लेख गरे ।
तत्कालका लागि नदी वारिपारि गर्न तुइनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् । पुल र सडक पुनर्निर्माणमा समय लाग्ने भएकाले प्रभावित नागरिकको आवागमन सहज बनाउन अस्थायी रूपमा तुइन सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाको कामलाई सरकारले थप प्रभावकारी बनाउनुपर्ने गुरुङले बताएका छन्।
