‘कृष्ण जीवन जिउने कलाका पारंगत र निपुण कलाकार’
कृष्ण साधक होइनन्। उनलाई साधक भनेर सम्बोधन गर्नु गलत हुन्छ। उनी सिद्ध हुन्- जीवन जिउने कलाका पारंगत र निपुण कलाकार। र, आफ्नो त्यो सिद्धावस्था अर्थात् मनको चरम अवस्थामा उनले जे भन्छन्, त्यो तपाईंलाई अहंकारपूर्ण लाग्न सक्छ, तर वास्तविकता त्यो होइन।
समस्या के हो भने कृष्णले पनि त्यही भाषाको ‘म’ प्रयोग गर्नुपर्छ, जुन तपाईंले प्रयोग गर्नुहुन्छ। तर कृष्णको ‘म’ र तपाईंको ‘म’ बीच ठूलो अन्तर छ। जब तपाईं ‘म’ भन्नुहुन्छ, त्यसको अर्थ हुन्छ -शरीरभित्र कैद भएको एउटा व्यक्ति। तर कृष्णले ‘म’ भन्दा त्यसको अर्थ हुन्छ- सम्पूर्ण ब्रह्माण्डमा व्याप्त अस्तित्व।
त्यसैले उनी यति साहसका साथ भन्न सक्छन्- ‘सबै कुरा छोडेर मेरो शरणमा आऊ।’ यदि यो तपाईंको जस्तो शरीरभित्र कैद भएको ‘म’ हुन्थ्यो भने कृष्णका लागि यस्तो भन्न सम्भव नै हुँदैनथ्यो। र यदि कृष्णको ‘म’ पनि तपाईंको जस्तै सानो र सीमित हुन्थ्यो भने अर्जुनलाई यस्तो कुरा सुन्दा चोट पुग्थ्यो। उनले तुरुन्तै प्रतिवाद गर्ने थिए – ‘तपाईं यस्तो के भन्दै हुनुहुन्छ? म किन तपाईंको अगाडि समर्पण गरूँ?’
तर त्यस्तो भएन।
जब कुनै व्यक्ति अर्को व्यक्तिसँग अहंकारको भाषामा बोल्छ, अर्को व्यक्तिभित्र पनि तत्काल अहंकारको प्रतिक्रिया उत्पन्न हुन्छ। तपाईंले अहंकारको ‘म’ बाट केही भन्नुभयो भने अर्को व्यक्तिले पनि त्यही भाषामा प्रतिक्रिया दिन्छ। हामी एकअर्काका शब्द पछाडि लुकेको अर्थ बुझ्न सक्छौँ र त्यहीअनुसार छिटो प्रतिक्रिया जनाउँछौँ।
तर कृष्णको ‘म’ अहंकारका सबै चिन्हबाट मुक्त छ। त्यसैले उनी अर्जुनलाई निर्दोष समर्पणका लागि आह्वान गर्न सके। यहाँ ‘मेरो प्रति समर्पण’ भन्नुको वास्तविक अर्थ हो – पूर्ण अस्तित्वप्रति समर्पण; त्यो मौलिक र रहस्यमय ऊर्जाप्रति समर्पण, जुन सम्पूर्ण ब्रह्माण्डमा व्याप्त छ।
निरहंकारिता बुद्ध र महावीरमा पनि आएको थियो, तर उनीहरूमा त्यो लामो संघर्ष र कठोर साधनापछि आएको हो। त्यसैले उनीहरूका धेरै अनुयायीमा त्यो अवस्था नआउन पनि सक्छ। किनकि उनीहरूको मार्गमा निरहंकारिता अन्तिम चरणमा आउने कुरा हो। अनुयायी त्यहाँ पुग्न सक्छन्, नपुग्न पनि सक्छन्।
तर कृष्णको साथमा निरहंकारिता सुरुमै आउँछ। उनी त्यहीँबाट सुरु हुन्छन्, जहाँ बुद्ध र महावीरको यात्रा समाप्त हुन्छ। त्यसैले कृष्णको मार्गमा हिँड्ने निर्णय गर्नेले सुरुदेखि नै यसलाई आत्मसात् गर्नुपर्छ। यदि ऊ यसमा असफल भयो भने, कृष्णसँग अघि बढ्ने प्रश्न नै उठ्दैन।
महावीरको सान्निध्यमा तपाईं आफ्नो ‘अहम्’ समातेरै धेरै टाढासम्म यात्रा गर्न सक्नुहुन्छ। तर कृष्णसँग हिँड्न तपाईंले पहिलो चरणमै आफ्नो ‘अहम्’ छोड्नुपर्छ। अन्यथा तपाईं उनीसँग हिँड्न सक्नुहुन्न।
तपाईंको अहम् महावीरको साथमा केही दूरीसम्म स्थान पाउन सक्छ, तर कृष्णको साथमा त्यसको कुनै स्थान छैन। कृष्णसँग पहिलो चरण नै अन्तिम चरण हो; महावीर र बुद्धसँग अन्तिम चरण नै पहिलो चरण हो।
तपाईंका लागि यो अन्तर बुझ्नु अत्यन्त महत्वपूर्ण छ, किनकि यो निकै ठूलो र आधारभूत अन्तर हो।
कृष्णलाई बुझ्न अत्यन्त कठिन छ।
कुनै व्यक्ति शान्तिको खोजीमा संसारबाट भागेर एकान्तमा पुग्छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ। तर यही व्यक्तिले भीडभाडले भरिएको संसारमै शान्ति प्राप्त गर्न सक्छ भन्ने कुरा स्वीकार गर्न अत्यन्त कठिन हुन्छ।
कुनै व्यक्ति आफ्ना आसक्तिबाट मुक्त भएर मनको शुद्धतम अवस्थामा पुग्न सक्छ भन्ने कुरा बुझ्न सकिन्छ। तर सम्बन्ध र आसक्तिको बीचमा रहेर पनि कोही अनासक्त र निर्दोष रहन सक्छ, शान्त रहन सक्छ र आँधीको ठीक बीचमा रहेर पनि स्थिर भएर बाँच्न सक्छ भन्ने कुरा बुझ्न निकै कठिन हुन्छ।
तीव्र हावा र आँधीबाट टाढा, एकान्तमा राखिएको दियोको ज्योति स्थिर र अडिग रहन्छ भन्ने कुरामा विश्वास गर्न कठिन हुँदैन। तर त्यही दियो तीव्र हावा र आँधीको बीचमा पनि निरन्तर बलिरहन सक्छ भन्ने कुरामा तपाईं कसरी विश्वास गर्नुहुन्छ?
त्यसैले कृष्णका सबैभन्दा निकट रहनेहरूका लागि समेत कृष्णलाई बुझ्नु कठिन हुन्छ।
कुनै व्यक्तिलाई बाहिरबाट हेरेर मात्र ऊ बुद्धिमान हो कि मूर्ख हो भनेर निर्णय गर्न सकिँदैन। किनकि कतिपय अवस्थामा बुद्धिमान र मूर्ख व्यक्तिका व्यवहार बाहिरबाट उस्तै देखिन सक्छन्।
गीता कृष्णले अर्जुनलाई भन्छन् -लड, तर परमात्मासामु पूर्ण समर्पण गरेर लड। आफूलाई केवल एउटा माध्यम बनाऊ।
समर्पणको अर्थ परम जागरूकता हो। अन्यथा साँचो समर्पण सम्भव हुँदैन। समर्पणको अर्थ अहंकारलाई छोडिदिनु हो। अहंकार नै मानिसको अचेतना हो।
कृष्ण भन्छन्- ‘अहंकारलाई छोडिदेऊ र आफूलाई परमात्मामा समर्पित गर। त्यसपछि जे हुन्छ, उसैको इच्छाअनुसार हुन देऊ। त्यसपछि जे हुन्छ, सबै ठीक हुन्छ।’
तर अर्जुन विवाद गर्छन्। उनी पटक–पटक नयाँ तर्क प्रस्तुत गर्छन् र भन्छन्- ‘यी मानिसहरूलाई मार्नु कसरी सही हुन सक्छ? उनीहरूले केही गलत गरेका छैनन्। एउटा राज्यका लागि यति धेरै मानिसको हत्या गर्नु, यति धेरै हिंसा, यति धेरै रक्तपात गर्नु कसरी उचित हुन सक्छ? एउटा राज्यका लागि यी मानिसहरूको हत्या गर्नुभन्दा म सबै कुरा त्यागेर जंगलमा गएर भिक्षु बन्न रुचाउँछु।’
अब यदि तपाईंले केवल बाहिरी रूपमा हेर्नुभयो भने अर्जुन कृष्णभन्दा बढी धार्मिक देखिन सक्छन्। अर्जुन कृष्णभन्दा बढी अहिंसावादी देखिन सक्छन्। कृष्ण त निकै खतरनाक देखिन्छन्।
कृष्ण भनिरहेका छन् -‘भिक्षु बन्ने र हिमालयका गुफातिर भाग्ने यो मूर्खतापूर्ण चाहना छोड। त्यो तिम्रो बाटो होइन। सबै कुरा परमात्मामाथि छोडिदेऊ। निर्णय गर्ने जिम्मेवारी आफूमाथि नलेऊ। आफ्नो निर्णय गर्ने अहंकार नै छोडिदेऊ। शान्त होऊ, सबै कुरा छोडिदेऊ र उसलाई तिमीभित्र प्रवेश गर्न देऊ। उसलाई तिम्रो माध्यमबाट प्रवाहित हुन देऊ।’
त्यसपछि जे हुन्छ, हुन देऊ। यदि परमात्माले तिम्रो माध्यमबाट भिक्षु बन्न चाहन्छ भने तिमी भिक्षु बन्नेछौ। यदि उसले तिम्रो माध्यमबाट योद्धा बन्न चाहन्छ भने तिमी योद्धा बन्नेछौ।
बाहिरबाट हेर्दा अर्जुन बढी नैतिकवादी र निष्ठावान् देखिन्छन्। कृष्ण भने ठीक यसको विपरीत देखिन्छन्।
तर कृष्ण एक बुद्ध हुन् -एक जागृत आत्मा। उनी भनिरहेका छन् -‘तिमी आफैँले कुनै निर्णय नगर। तिम्रो अचेतनबाट आएको निर्णय गलत हुने सम्भावना हुन्छ, किनकि अचेतनता नै गलत हो।’
र मूर्ख व्यक्ति अचेतनतामै बाँच्छ। उसले राम्रो गर्न चाहे पनि अन्ततः गलत नै गर्न पुग्छ।
