`

बालुवा र बगरमा स्थानीयको नजर

Nepal One HD २९ भदौ २०८३ १२:५४
अर्थ समाचार

काठमाडौं । भदौ १० गतेको बाढीले त्रिशूली र आसपासका खोलाको रूपै फेरिदियो। कतै सडक बगायो, कतै पुल र बस्तीमा क्षति पुर्‍यायो। तर त्यही बाढीले खोलामा थुपारेको बालुवा, गिट्टी र गेग्रान अहिले स्थानीयका लागि कमाइको माध्यम बनेको छ।

बाढीपछि त्रिशूली नदी र त्यसका सहायक खोलामा ठूलो परिमाणमा बालुवा थुप्रिएको छ। बहाव क्षेत्रसमेत परिवर्तन भएपछि नयाँ–नयाँ ठाउँमा बालुवा जम्मा भएको छ। यही मौकामा स्थानीय बालुवा व्यवसायी र मजदुरहरू उत्खननमा लागेका छन्।

धादिङको बेल्खु खोला तथा नुवाकोट–धादिङ सीमामा पर्ने कोल्पु खोलामा अहिले बालुवा निकाल्ने चहलपहल बढेको छ। माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएको बालुवा खोलाका किनार र विभिन्न स्थानमा थुप्रिएपछि डोजर र एक्साभेटर लगाएर निकाल्न थालिएको हो।

निकालिएको बालुवा ट्र्याक्टर र टिपरमार्फत नजिकका बजार तथा निर्माणस्थलसम्म पुर्‍याउने गरिएको छ। बाढीपछि सडक, पुल र अन्य संरचनाको पुनर्निर्माण सुरु हुने भएकाले निर्माण सामग्रीको माग बढ्ने व्यवसायीको अनुमान छ। त्यसैले अहिले थुप्रिएको बालुवालाई उनीहरूले ‘बाढीपछिको अवसर’का रूपमा हेरेका छन्।

तर खोलामा बालुवा थुप्रिँदैमा जथाभावी निकाल्न भने नहुने स्थानीय बताउँछन्। बाढीले यसअघि नै नदीको धार र किनार कमजोर बनाइसकेको अवस्थामा अनियन्त्रित उत्खननले कटान थप बढाउन सक्छ।

अझ नदी किनारका सडक, पुल र बस्तीमा त्यसको प्रत्यक्ष असर पर्न सक्ने जोखिम छ। त्यसैले कहाँबाट कति बालुवा निकाल्ने भन्ने विषयमा स्थानीय तहले प्राविधिक अध्ययन र वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने देखिएको छ।

कतिपय ठाउँमा बाढीले थुपारेको गेग्रान हटाउनु नदीको बहाव सहज बनाउन आवश्यक पनि हुन सक्छ। तर त्यसलाई कमाइको नाममा जथाभावी उत्खनन गर्न दिइयो भने अहिलेको अवसर भोलि अर्को विपत्तिको कारण बन्न सक्ने जोखिम छ।

भदौ १० को बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। त्रिशूली आसपासका सडक, पुल, जलविद्युत् आयोजना र बस्तीसमेत प्रभावित भएका छन्।

विपत्तिले छाडेको यही बालुवा अहिले कतै रोजगारी बनेको छ, कतै व्यवसायको अवसर। तर यसलाई व्यवस्थित गर्न नसके त्यही बालुवा फेरि जोखिमको कारण बन्न सक्छ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *