सोसल मिडियामा वेश्यागमन प्रचार गर्ने युवक पक्राउ
काठमाडौं। सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचारप्रसार हुने प्रकृतिको सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमा वेश्यागमनको प्रचारप्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी प्रभाग गोङ्गबु नयाँ बसपार्कबाट विशेष टोली परिचालन गरिएको थियो ।
प्रहरीले खोजी गर्ने क्रममा गत १७ भदौमा नयाँ बसपार्क क्षेत्रमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा लामालाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
लामाविरुद्ध ‘वेश्यागमनको प्रचार गर्न नहुने कसुर’ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
