प्रश्न गर्नेहरुलाई प्रश्नै प्रश्न!
काठमाडाैं। ‘देशको रक्षा गर्ने जति सबै चुतिया छन्, नेता जति सबै चोर देश लुटी खाछन्, आमाको सारीमा कट्टु सोची मुतिराछन्, नाङ्ग्रेस, नेमाले-नाओवादी-सबै मिली देश बाँडी खाऊँ हामी।’ सम्झिनुहुन्छ- कुरा यै होइन त? थोरै राइमिङ नमिलेको हुन सक्छ- त्यो त्यस्तै हो।
अनि यसमा रास्वपा चाहिँ छुटेको छ है। किनकि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले यो र्याप लेख्ने बेला रास्वपा जन्मेकै थिएन। नत्र रास्वपा पनि लेख्थे कि? हुन त नलेख्न पनि सक्थे। किनकि उनी त्यही दलबाट प्रधानमन्त्री छन्। कि उनलाई यो र्याप लेख्ने बेला थाहा थियो- यो देशमा रास्वपा जन्मिन्छ र म प्रधानमन्त्री हुन्छु भन्ने कुरा? हुन त उनको ‘फु… रास्वपा’ वाला स्टाटस पनि छ।
सम्झिनुहुन्छ- रास्वपा सभापति रवि लामिछानेले टेलिभिजनबाट राजनीतिक पार्टीका नेताहरूलाई खेद्नु खेद्थे। कतिसम्म भने उनले टुँडिखेलमा राखेर नेताहरूको नाकको डाँडी भाँचिदिने धम्की दिन्थे। एकछिन, एकछिन, उनले न कसैलाई खेदेका हुन्, न कसैलाई धम्की दिएका हुन्। उनले त विशुद्ध पत्रकारिता गरेका हुन्।
अब कतिपयले त अहिले पनि सोच्छन्, कतै आन्दोलन भयो भने म पानी बाँड्न जान्छु। पानी बाँड्न जाँदा गृहमन्त्री भइँदो रहेछ।
हिजो अरूलाई प्रश्न सोधेर र गाली गरेर चर्चामा आएका यही पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू आज आफैंलाई प्रश्न सोधिँदा भने भाग्ने गरेका छन्। सायद उनीहरूलाई थाहा भएको पो हो कि- यो सरकार चलाउने काम त र्यापमा गाली गरेजस्तै र टेलिभिजनबाट धम्की दिएजति सजिलो रहेनछ। अँ, सरकार चलाउन नसकेर, जनताका प्रश्न थेग्न नसकेर, गाली गर्न नपाएर उनीहरूलाई पर्नु पीर परेको पनि हुनुपर्छ।
जनताले सोधिरहेका छन्- सरकारी डोजर आतंकबाट विस्थापित सुकुम्बासी नागरिकको व्यवस्थापन भयो? अँ, त्यो गृहमन्त्रीको एउटा काण्ड आएको थियो नि! सेयर खरिद-बिक्री प्रकरण। त्यो प्रकरणको छानबिन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ? कि त्यो प्रतिवेदन सुशासनले खायो?
अर्थमन्त्रीको बीवाईडी गाडी प्रकरणको छानबिन भयो त? कि कसैले कप्ल्याक्क खाइदियो? अहिले कसैले कुरै गर्दैनन्। अनि यसो सम्झेको।
नेपालले भारतको सीमा कहिले, कहाँ र कति मिचेको छ? कि प्रधानमन्त्रीले कुमाउँ, गढवाल र टिस्टा नदीसम्मको भूभाग नेपालको भन्न खोज्नुभएको हो?
हेर्नुस्, न अहिले त झन् प्रश्नै-प्रश्न! देशका युवाहरू अनलाइन मात्रै बसेर यस्तो भइसके कि उनीहरूलाई उनीहरूले होइन, एल्गोरिदमले चलाइरहेको छ। तर सरकारले भनेको ‘लाइन हैन, अन्ली अनलाइन’ खोइ कता पट्टि पो छ हौ? कि उतै घर्रातिर थन्किएको रास्वपाको वाचापत्रमा?
अनि ग्यास पाइरहनुभएको छ त? भात पकाउनुभयो? केमा? ग्यासमा कि इलेक्ट्रिकमा? कि भोकै हुनुहुन्छ? जे भए पनि बाल। अहिले देशमा रामराज्य छ। भोकै सुतोस् कि भोकै मरोस्। रामराज्यमा यस्तै हुन्छ।
लाइसेन्स, परिचयपत्र, पासपोर्ट तपाईंको घरमै आउन थाल्यो त? कि राहदानी विभाग, पञ्जीकरण विभाग र यातायात कार्यालयतिर लाइनमा बसेर यो भिडियो हेर्दै हुनुहुन्छ? होइन होला-देशमा १०० दिनमा देशलाई रामनगरी बनाउने सरकार छ। त्यस्तो त पक्कै होइन।
अस्पतालतिर के छ? कुपन हातमा छ? लाइनमै हुनुहुन्छ? कि प्रसव सुत्केरी व्यथाबाट गुज्रिएर सडकमै बच्चा जन्माउनुपरेको पीडादायी र कारुणिक दृश्य हेर्दै हुनुहुन्छ?
अनि तपाईंहरू विदेशमा हुनुहुन्छ? के छ त्यहाँको खबर? रास्वपा सभापति रवि लामिछाने तपाईं बसिरहेको सहरको गल्लीगल्लीमा स्टिकर टाँस्न त आउनुभएको छैन? आउनुभयो भने खबर गर्नुस् है।
तपाईंहरूले चिया त पक्कै खानुहुन्छ। कताको चिया खाइरहनुभएको छ? वारीको कि पारीको? चिया उद्योग बन्द त भएका छैनन् होला? कतै रोजगारी गुमाउनेमा तपाईं त पर्नुभएन नि? चिन्ता नलिनुस्, सरकारले अबको पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्दैछ।
सुनसरीमा दुई समुदायबीच धार्मिक दंगा भयो। चार जना कलिला युवाहरूले ज्यान गुमाए। सरकारले क्षतिपूर्ति दियो। सकियो। छानबिन प्रतिवेदनचाहिँ कता गयो? रोडहरू बिग्रेका छन्। बाढीपहिरो गइरहेको छ। जाम परिरहेको होला। प्रतिवेदन आउनमा ढिलाइ हुन सक्छ।
अन्तर्राष्ट्रिय सम्बन्ध राम्रै चलिरहेको होला। उता तलतिर भारतले ब्रिक्स सम्मेलन गर्यो। नेपाल पनि सार्कको अध्यक्ष हो क्यारे। तर बोलाइएन नेपाललाई। मास्तिर चीनसँग नि? दलाई लामाको जन्मदिन पहिलोचोटि नेपालमा मनाइयो। टीओबी त चर्चाको विषय नै भइहाल्यो। अमेरिकाका राजदूत मुस्ताङ गइरहेकै छन्। र पनि सम्बन्ध राम्रै होला।
भारतबाट बिजुली किन्ने रे? नेपालले बिजुली बेच्थ्यो हैन र? बेच्नुपर्ने हैन र? विज्ञ अर्थमन्त्रीले उत्पादनका योजना पनि ल्याएनन्। हुन त सरकार सुशासन ल्याउन लागिपरेको छ। व्यस्त छ।
अब यो देशमा जेन्जीहरूका दुःखका कुरा गरी साध्य छैन। २३ भदौमा त्यत्रो आन्दोलन गरे। सुशासन चाहिएको थियो। ७६ जनाको ज्यान गयो सुशासनका लागि। तर सुशासन? आउँदैछ- नारायणघाट-मुग्लिन सडकखण्डको बाटो भएर।
हिजो टेलिभिजनको पर्दा र गीतमा भाका हालेर नेताहरूलाई प्रश्नमाथि प्रश्न गर्ने अहिलेका सरकारवालाहरू भने प्रश्नबाट भागिरहेका छन्। उनीहरूले प्रश्नको उत्तर होइन, विषयान्तर रोज्छन्। प्रश्न सोध्नेलाई गाली गर्छन्, साइबर सेना लगाएर। पत्रकारलाई सुध्रिन आदेश दिन्छन्, आफ्नो भने भ्रष्टाचारको आरोप लागेको प्रतिवेदन खानासँग अचार बनाएजसरी खान्छन्। सञ्चारमाध्यमलाई धम्काउँछन् र भन्छन्, ‘पर्ख, लेख्लास्, बोल्लास्।’
महँगी नियन्त्रणमा सरकारले काम के गर्यो? कालोबजारी रोक्न के गरियो? विपद्पछिको राहत र पुनर्निर्माण कहाँ पुग्यो? भ्रष्टाचारविरुद्धको अनुसन्धानको अवस्था के छ? जीबी राई प्रकरण कहाँ पुग्यो? जेन्जी आन्दोलनसँग जोडिएका घटनामा न्यायिक प्रक्रिया कहाँ पुग्यो? विगतमा गरिएका राजनीतिक प्रतिबद्धता कति पूरा भए? यी यावत् प्रश्नको उत्तर नदिँदैमा प्रश्नहरू सकिँदैनन्।
महँगी, बजार अनुगमन, ग्यास अभाव, कालोबजारी, विपद्पछिको राहत र पुनर्निर्माण, भ्रष्टाचार अनुसन्धान तथा विगतमा गरिएका राजनीतिक प्रतिबद्धता पूरा भए-नभएको विषयमा संसद् र सार्वजनिक मञ्चबाट प्रश्न उठिरहेका छन्। तर सरकारसँग उत्तर छैन। उनीहरू भागिरहेका छन्। उनीहरू लखेटिइरहेका छन्- प्रश्नबाट।
सार्वजनिक पदमा बसेका व्यक्तिसँग प्रश्न गर्नु प्रत्येक नागरिकको अधिकार हो। त्यसको जवाफ दिने कि नदिने भन्ने निर्णय सम्बन्धित व्यक्तिको हुन सक्छ। तर जवाफ नदिँदैमा प्रश्नचाहिँ हराउँदैन। बरु प्रश्नहरू थपिँदै जान्छन्। अहिले पनि यो सरकारलाई त्यस्तै भएको छ। प्रश्नबाट भाग्दा-भाग्दा अब यस्तो लाग्छ- यिनीहरू प्रश्नबाट भाग्न पाउनेछैनन् र हराउनेछन्।
हिजो अरूलाई प्रश्न सोधेर राजनीतिक उचाइ बनाएका नेताहरू आज आफैं प्रश्नको केन्द्रमा छन्। तर फरक यति हो, हिजो प्रश्न सोध्ने पालो थियो, आज जवाफ दिने पालो। सार्वजनिक पदमा पुगेपछि प्रश्नबाट भागेर होइन, प्रश्नको सामना गरेर जवाफदेहिता देखाउनुपर्ने हुन्छ। प्रश्न नभए पनि प्रश्न जन्मिन्छ। पत्रकारले नसोधे जनताले सोध्छन्। सांसदले प्रश्न नगरे नि समयले प्रश्न गर्छ। र समयले सोधेको प्रश्नको जवाफ भने ‘उहाँलाई सोध्नुस्’ भनेर वा भागेर पन्छाउन सकिँदैन।
