भारी वर्षाको जोखिम बढेपछि गृह मन्त्रालयको सक्रियता, ७७ जिल्लाका सीडीओसँग पूर्वतयारीबारे छलफल
यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका सन्दर्भमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग आज उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।
गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त जिल्लाहरूमा अपनाउनुपर्ने सतर्कता, आम सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने संयन्त्र तथा सम्भावित जोखिमका आधारमा सवारी आवागमन नियन्त्रण वा बन्द गर्नेलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
छलफलमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल), नेपाल पर्यटन बोर्ड एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उच्च प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए ।
