गरिब देशबाट असाधारण भू-राजनीतिक शक्ति बनेको उत्तर कोरिया
काठमाडाैं। दोस्रो विश्वयुद्धको अन्त्यसँगै कोरियाली प्रायद्वीप विभाजित भयो। सन् १९४८ मा उत्तरमा किम इल-सुङको नेतृत्वमा उत्तर कोरिया र दक्षिणमा दक्षिण कोरिया स्थापना भए। त्यसको दुई वर्षपछि सुरु भएको कोरियाली युद्धले यो विभाजनलाई अझ गहिरो बनायो। सन् १९५३ मा युद्धविराम भयो, तर शान्ति सम्झौता भएन।
उत्तर कोरिया सुरुदेखि नै आफ्नो अस्तित्वलाई बाह्य शक्तिबाट जोगाउने संघर्षका रूपमा प्रस्तुत गर्दै आयो। सोभियत संघ र चीनको राजनीतिक तथा सैन्य समर्थनमा बनेको यो राज्यमा सुरक्षा र सैन्य शक्तिलाई विशेष महत्व दिइयो। यही राजनीतिक विरासत किम इल-सुङबाट उनका छोरा किम जो-इल हुँदै नाति किम जोन उनसम्म आइपुग्यो।
एउटै परिवारले तीन पुस्तासम्म उत्तर कोरियाको सत्ता सम्हाल्नु आधुनिक विश्व राजनीतिमा दुर्लभ घटना हो।
किम जों उन सन् २०११ मा सत्तामा आउँदा निकै युवा थिए। तर उनले सम्हालेको उत्तर कोरिया भने सहज अवस्थामा थिएन। सोभियत संघको विघटनपछि उत्तर कोरियाले महत्वपूर्ण आर्थिक र राजनीतिक सहारा गुमाइसकेको थियो। खाद्य संकट, कमजोर अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा अमेरिका र दक्षिण कोरियासँगको सैन्य तनावका बीच किमसामु पहिलो चुनौती आफ्नो शासनलाई स्थिर राख्नु थियो।
किमले यसको समाधान आर्थिक उदारीकरणबाट खोजेनन्। बरु उनले पार्टी र राज्य संयन्त्रमाथि आफ्नो नियन्त्रण बलियो बनाए र आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिए।
आज उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण रणनीतिक शक्ति यही आणविक क्षमता हो।
आणविक हतियारको विकासले उत्तर कोरियालाई आर्थिक रूपमा शक्तिशाली बनाएको होइन। तर यसले देशमाथि प्रत्यक्ष सैन्य कारबाही गर्दा त्यसको सम्भावित मूल्य निकै ठूलो हुने अवस्था सिर्जना गरेको छ। यही कारण किमको शक्ति बुझ्दा देशको आर्थिक आकारभन्दा उसको सैन्य क्षमता र त्यसले सिर्जना गर्ने प्रतिरोध क्षमतालाई बढी महत्वपूर्ण मानिन्छ।
तर एउटा देश सफल बन्न आणविक हतियार मात्र पर्याप्त हुँदैन। त्यसलाई उपयोग गर्न सक्ने क्षेप्यास्त्र प्रणाली, ठूलो परम्परागत सेना र देशभित्रको कडा राजनीतिक नियन्त्रण पनि किमको शासनका महत्वपूर्ण आधार हुन्।
आजको उत्तर कोरियासँगै जोडिन्छ- चीन र रूसको भूमिका।
चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक र कूटनीतिक आधार रहँदै आएको छ। तर पछिल्ला वर्षमा रूससँग उत्तर कोरियाको सम्बन्ध पनि निकै नजिकिएको छ। सन् २०२४ मा दुई देशबीच भएको रणनीतिक साझेदारी तथा आपसी रक्षा सन्धिले सम्बन्धलाई नयाँ तहमा पुर्यायो। युक्रेन युद्धपछि उत्तर कोरिया र रूसबीच सैन्य सहकार्यसमेत बढेको छ।
यसले किमलाई एउटा फरक कूटनीतिक ठाउँ दिएको छ। उनी चीनमा मात्र निर्भर रहनुपर्ने अवस्थामा छैनन्। चीनसँग आर्थिक सम्बन्ध कायम राख्दै रूससँग सुरक्षा र सैन्य सम्बन्ध विस्तार गर्ने प्रयासले उत्तर कोरियाको रणनीतिक महत्व बढाएको छ।
यो सबै बदलिँदो विश्व व्यवस्थासँग जोडिएको विषय हो। शीतयुद्धपछि लामो समयसम्म अमेरिका केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्था प्रभावशाली रह्यो। अहिले चीनको आर्थिक तथा सैन्य उदय, रूस र पश्चिमबीचको तनाव तथा अमेरिका-चीन प्रतिस्पर्धाले विश्व राजनीति थप जटिल बनिरहेको छ। यस्तो अवस्थामा उत्तर कोरियाले पनि आफ्नो भूराजनीतिक स्थान प्रयोग गर्ने अवसर पाएको छ।
चीन उत्तर कोरियामा अस्थिरता नहोस् भन्ने चाहन्छ। रूसका लागि पश्चिमसँगको व्यापक रणनीतिक प्रतिस्पर्धामा उत्तर कोरियासँगको सहकार्य उपयोगी हुन सक्छ। अमेरिका, दक्षिण कोरिया र जापानका लागि भने उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र क्षमता सुरक्षा चुनौतीका रूपमा रहेको छ।
यी फरक-फरक स्वार्थको बीचमा किमले आफ्नो देशको रणनीतिक उपयोगिता बढाएका छन्।
