वडा अधिवेशनलाई एकता र सहकार्यको अवसर बनाउन शशांक कोइरालाको अपिल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १५औँ महाधिवेशनअन्तर्गत प्रारम्भ हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्त्वपूर्ण चरण भएको बताएका छन् ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक रहेका डा. कोइरालाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च उत्साह, जिम्मेवारी र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गरेका छन् ।
उनले वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्त्वपूर्ण अवसर भएको उल्लेख गरेका छन् ।
व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशन सफल बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
