`

टिपरको ठक्करबाट ईभीमा सवार एक महिलाको मृत्यु, पाँच जना घाइते

Nepal One HD १६ असोज २०८३ १४:३५
समाचार

काठमाडाैं । सिरहाको कर्जन्हामा टिपरको ठक्करबाट यात्रुवाहक विद्युतीय गाडी (ईभी)मा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका-४ भुल्केमा शुक्रबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१-००१ ज. ०१२४ नम्बरको ईभीलाई विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३-००२ ख. ३९९६ नम्बरको टिपरले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलबजार नगरपालिका-४ की करिब ४५ वर्षीया शोभा कुमारी यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । टाउको र अनुहारमा चोट लागेकी यादवको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।

दुर्घटनामा गम्भीर घाइते २२ वर्षीया प्रियंका यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ । अर्की घाइते गोलबजार नगरपालिका-६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

ईभी चालक धनगढीमाई नगरपालिका-२ का ३५ वर्षीय मन्जुर खान तथा गोलबजार नगरपालिका-४ का संगीता मण्डल र फुलकुमारी यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका सबैजना जितिया पर्वका व्रतालु थिए । जितिया पर्वअन्तर्गत नुहाएर खाने दिन भएकाले उनीहरू कमला नदीमा नुहाउन जाँदै थिए ।

दुर्घटनामा संलग्न टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरसमेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *