`

‘६ महिनामै सरकारमा फासीवादी प्रवृत्ति देखियो’

Nepal One HD १६ असोज २०८३ १४:०५
बिशेष

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार गठन भएको ६ महिनामै ‘फासीवादी’ प्रवृत्ति देखिएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको ६ महिने कार्यकाल पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पूर्वप्रधानन्यायाधीशसँग जोडिएको घटनासम्म आइपुगेको टिप्पणी गरे।

उनले सरकारलाई लोकतान्त्रिक बाटोमा फर्कन, संसद् र जनताप्रति जवाफदेही बन्न तथा लोकतान्त्रिक अभ्यासलाई पूर्ण रूपमा पुनःस्थापित गर्न सुझाव दिए।

सुशासन र सम्पत्ति छानबिनको नाममा देशभक्त शक्ति, सञ्चारकर्मी, नागरिक अभियन्ता र व्यवसायीलाई निशाना बनाइएको आरोप पनि थापाले लगाए। यी आरोप उनले संसद्मा सरकारको कार्यशैलीबारे टिप्पणी गर्ने क्रममा राखेका हुन्।

उनले पछिल्लो ६ महिनामा संसद्को भूमिका पनि कमजोर बनाइएको दाबी गरे। सत्ता पक्षको प्रभावमा संसद् सरकारको ‘छायाँ’ जस्तो बनेको र विधेयकहरू शक्ति र संख्याका आधारमा एकपक्षीय ढंगले पारित गरिएको उनको आरोप थियो।

प्रतिपक्षलाई सरकारको काममा सहयोगीका रूपमा लिनुको साटो बाधकका रूपमा बुझ्ने प्रवृत्ति देखिएको भन्दै उनले आपत्ति जनाए।

सभामुखले राजनीतिक सहमति निर्माणमा आवश्यक भूमिका खेल्न नसकेको र संसद्मा सत्ता पक्षको बहुमतको प्रभाव हाबी भएको उनको टिप्पणी थियो।

थापाले भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछिको उद्धार तथा राहत व्यवस्थापनलाई लिएर पनि सरकारको आलोचना गरे। विपद्को समयमा उद्धार र राहत प्रभावकारी हुन नसकेको तथा विदेशी सहयोग लिन ढिलाइ गरिएको आरोप उनले लगाए।

विपद्को व्यवस्थापनभन्दा आत्मप्रचारमा सरकारको बढी ध्यान गएको उनको दाबी थियो।

थापाले सरकारलाई लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासप्रति उत्तरदायी बन्न आग्रह गर्दै वर्तमान कार्यशैली सुधार्न सुझाव दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *