कुलेखानी बाँधमा मन्त्री श्रेष्ठको निरीक्षण, ‘ड्याम स्टेबल छ’
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको स्थलगत निरीक्षण गरेका छन् ।
असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि कुलेखानी जलाशयमा बढेको पानीको सतह र बाँधको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ शनिबार असोज १७ गते कुलेखानी पुगेका हुन् ।
निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका अधिकारीले जलाशय, बाँध र विद्युत् केन्द्रको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
निरीक्षणपछि मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित र अवस्था सामान्य रहेको बताए । भारी वर्षाका क्रममा बाँधमा २४ सै घण्टा निगरानी राखिएको तथा तल्लो तटीय क्षेत्रमा समेत सूचना प्रवाह गरी सतर्कता अपनाइएको उनले बताए ।
‘जलाशयको सतह व्यवस्थापन गर्ने, २४ सै घण्टा निगरानी राख्ने तथा तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरी अलर्ट अवस्थामा राख्ने काम गरिएको थियो,’ उनले भने, ‘अहिले हेर्दा अवस्था व्यवस्थापन भएको छ । ड्याम स्टेबल छ ।’
भारी वर्षाका कारण नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा समेत प्रभाव परेको उनले बताए ।
कुलेखानी जलाशयमा पर्याप्त पानी रहेकाले आगामी सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने मन्त्री श्रेष्ठको भनाइ छ ।
‘आज कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्यौँ । बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको छ,’ उनले भने ।
ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रहेको उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीका लागि महत्वपूर्ण आयोजना भएको बताए । उनका अनुसार यसले विद्युत् प्रणालीमा ‘पिकिङ’का लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
‘सिस्टम अपरेसनको दृष्टिकोणबाट कुलेखानीको ठूलो योगदान रहिआएको छ,’ उनले भने ।
मन्त्री श्रेष्ठको सचिवालयका अनुसार निरीक्षणपछि कुलेखानी बाँधको अवस्था सामान्य र सुरक्षित रहेको पाइएको छ ।
